चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजी कार्य आज पनि सुरु गरिएकाे छ ।
प्रमखु जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल आर्मी, सशस्त्र प्रहरी तथा गाेताखाेर टाेली परिचालन गरिएकाे जानकरी दिनुभयाे । ‘पानीको तह र बहाव, धमिलोपना कारण अन्यथा नभएमा हामीले आज आफ्नो सबै सामर्थ्य खोज र उद्धारमा लगाउँछौँ’, उहाँले भन्नुभयाे ।
उहाँका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको छ ।
हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
हिजो अबेरसम्म पनि बस र यात्रु फेला नपरेपछि खोजी कार्य स्थगित भएको थियो । हिजो घटनास्थलबाट पाँच किमी तलसम्म खोजी कार्य गरिएकाे थियाे।
दुई वटा बसमा गरी कम्तिमा ४८ जना बेपत्ता भएका छन् । तीन जना यात्रु भने नदीमा पौडिएर बाँच्न सफल भए । दुईवटा बसमा ५१ जना सवार थिए ।