चितवन, असोज ७ –
चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए ।
पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरुले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए।
त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन् ।
आर्थिक वर्ष २०८०/०८१ को कात्तिक ३० अगाडिका वर्षमा तस्करले गैँडा मारेको तथ्याङ्क छ । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच वटा, २०७८/०७९ मा दुई र ७९/८० मा दुई वटा गैँडा तस्करले मारेका थिए ।
यसअघि आर्थिक वर्ष २०५८/०५९ मा ३८ गैँडा तस्करले मारेका थिए । सशस्त्र द्वन्द्वको बेला सुरक्षा पोष्ट कटौतीको फाइदा उठाउँदै तस्करहरुले गैँडा मारेका हुन् । त्यसयता सुरक्षा संयन्त्र चनाखो भएपछि एक हजार ७१ दिन शून्य चोरी शिकार भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७५/०७६ मा ४३, २०७६/०७७ मा २६, २०७७/०७८ मा ३५, २०७९/०८० मा २०, २०८०/०८१ मा २१, २०८१/०८२ मा २८ वटा र २०८२/०८३ मा २२ वटा गैँडा प्राकृतिक कारणले मृत्यु भएको थियो ।
निकुञ्जमा नेपाली सेनाको नयाँ गोरख गण दलले सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीयको सहकार्यबाट चोरीशिकार नियन्त्रण सम्भव भएको थापामगर बताउनुहुन्छ ।
निकुञ्जमा हाल ५३ वटा पोष्ट छन् । उक्त पोष्टमा नेपाली सेना र निकुञ्ज सुरक्षाकर्मी रहेर सुरक्षा दिइरहेको उहाँले बताउनुभयो । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तस्करहरुले गोली हानेर, खाल्डोमा पारेर, विष खुवाएर, करेन्ट लगाएर गैँडा मार्ने गर्दछन् । यस्तै प्राकृतिक कारणले बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, दलदलमा फसेर, बाघले खाएर गैँडा मर्ने गरेका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन् ।
यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९५ वटा गैँडा रहेका छन् । सन् २०२१ यता गैँडा गणना भएको छैन । चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् । रासस