Latest News

भानु जयन्ती : चिसापबाट तीन साहित्यकार पुरस्कृत

सम्मान

रत्ननगर । चितवन साहित्य परिषद्ले तीन जना लेखक तथा साहित्यकारहरुलाई विभिन्न विधामा शनिबार पुरस्कृत गरेको छ । २११औं भानु जयन्तीको अबसरमा चिसापले काठमाडौंका बरिष्ठ लेखक तथा पत्रकार पुरुषोत्तम दाहाल, उदयपुरकी नियात्राकार भवानी खतिवडा र चितवनका कवि तथा सहित्यकार धनराज गिरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

राजनीतिक विश्लेशक समेत रहेका दाहाललाई चिसाप बामदेव लक्ष्मी साहित्य पुरस्कार २०८१ प्रदान गरिएको छ । नारायणी कलामन्दिरमा आयोजित कार्यक्रममा दाहाललाई ३५ हजार ४५ रुपैया राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । उदयपुरकी नियात्राकार खतिवडालाई चिसाप खेमलाल साहित्य पुरस्कार २०८० प्रदान गरिएको छ । उनको नियात्राकृति आकाश ओढेको डोल्पाको लागि ५० हजार ४५ रुपैया राशीको पुरस्कार प्रदान गरिएको हो । चितवनका गजल तथा साहित्यकार गिरीलाई १५ हजार ४५ रुपैया राशीको चिसाप प्रतिभा पुरस्कार २०८० प्रदान सहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार गोविन्दराज विनोदी र चिसापका अध्यक्ष केदारनाथ खनालले प्रदान सम्पादक दाहाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन । कार्यक्रममा चितवन साहित्य परिषद्का उपाध्यक्ष गणेश रमणले सम्मानित साहित्यकारहरु धनराज गिरी र भवानी खतिवडाको बारेमा चर्चा गरेका थिए भने परिषद्का सल्लहाकार श्यामजी अतिथिले बरिष्ठ पत्रकार दाहालको कृतिको बारेमा बोलेका थिए । पत्रकारिता, साहित्य र नेपाली राजनीतिका विश्लेशक समेत रहेका दाहालको पत्रकारितामा लामो अनुभव रहेको छ ।

२०४६ सालमा बहुदल आएपछि रेडियो नेपालमा ‘घटना र विचार’ कार्यक्रम चलाउनुभएका दाहाल अहिले पनि पत्रकारितामै सक्रिय छन् । उनका ४० वटा कृतिहरू प्रकाशित छन् । चिसापले सम्पादक दाहाल अन्य दुई जना साहित्यकारहरुलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत आदिकवि भानुभक्त आचार्यको बारेमा चर्चा गरेका थिए । चिसापका अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा कलामन्दिरका उपाध्यक्ष अनुकुल श्रेष्ठले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।