नेपो बेबीको नमुनाः रास्वपाका कोषाध्यक्ष मनोहर प्रधानले भतिजीलाई बनाए क्यान्सर अस्पतालको सदस्य

rsp nepo

भरतपुर, असोज ८-

राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवम् स्वास्थ्यमन्त्री निशा मेहताका विज्ञ सल्लाहकार मनोहर प्रधानले भतिजीलाई भरतपुरको क्यान्सर अस्पतालमा राजनीतिक नियुक्ति दिलाएका छन् ।

‘नेपो बेबी’को विरोध गरेर सरकार बनाएको रास्वपाले पुरानै दलहरुका गतिविधि पछ्याएको छ । मनोहरले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा आफ्नै भतिजी इशा प्रधानलाई नियुक्ति दिलाएका हुन् । इशाको माइती घर भरतपुर–२ क्षेत्रपुरमा रहेको छ ।

देशको एक मात्र विशिष्टीकृत क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा एक नीजि बीमा कम्पनीमा काम गर्दै आएकी मनोहरकी भतिजी नियुक्त भएपछि छनौट प्रक्रिया विवादमा तानिएको हो । खुला प्रतिस्पर्धा, सुशासन र योग्यता प्रणालीको दाबीसहित सञ्चालन गरिएको भनिएको छनोट प्रक्रियामा जीवनभर क्यान्सर उपचारमा समर्पित विज्ञहरूलाई पाखा लगाई सत्तारुढ दलका संगठित प्रतिनिधि र स्वास्थ्य मन्त्रीका सल्लाहकारका पारिवारिक सदस्यलाई नियुक्त गरिएको तथ्य सार्वजनिक भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ बमोजिम रिक्त सञ्चालक समिति सदस्य पदका लागि मिति २०८३ भदौ २२ र २४ गते उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिएको थियो। तर, अन्तर्वार्तापूर्व नै मन्त्रालय र अस्पताल वृत्तमा चर्चामा आएका नामहरू नै अन्तिम सूचीमा छनोट भएपछि खुला प्रतिस्पर्धा केवल औपचारिकता र ‘नाटक’मा सीमित भएको भन्दै प्रतिस्पर्धी तथा सरोकारवालाहरूले कडा आपत्ति जनाएका छन्।

स्वास्थ्य तथा क्यान्सर व्यवस्थापनको प्रत्यक्ष प्राविधिक अनुभव नभई निजी बीमा कम्पनीमा कार्यरत व्यक्तिलाई मन्त्रीका सल्लाहकारको पारिवारिक पहुँच र दबाबका भरमा छनोट गरिएको दाबी गरिएको छ।

अन्तर्वार्तामा दशकौँदेखि क्यान्सर निदान र शल्यक्रियामा खटिएका वरिष्ठ अंकोलोजिस्ट, जटिल क्यान्सर केयर सम्हालेका नर्सिङ अधिकृतहरू तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त जनस्वास्थ्य विज्ञहरू सामेल थिए। तर, ती सबै प्राविधिक विज्ञता र कार्ययोजनालाई लत्याएर ‘स्वार्थको द्वन्द्व’ र नातावादको बलमा नियुक्ति गरिएको आरोप प्रतिस्पर्धीहरूको छ।

छनोट प्रक्रियामा भएको धाँधली, झुटो स्वघोषणा र नातावादविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार), राष्ट्रिय सतर्कता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने तयारी गरिएको छ।

स्वार्थको द्वन्द्वका आधारमा छनोट गरिएकी इशा प्रधानको विवादास्पद नियुक्ति तत्काल बदर गर्न प्रतिस्पर्धीहरुले माग गरेका छन् । त्यस्तै अन्तर्वार्तामा उम्मेदवारहरूले पेस गरेका सक्कल स्वघोषणा पत्र, प्रस्तुतीकरणको अंकतालिका र छनोट समितिको निर्णय फाइल सार्वजनिक गरी छानबिन गर्न माग गरिएको छ ।

क्यान्सर रोग विशेषज्ञ, अनुभवी नर्स तथा स्वास्थ्य प्रशासकहरूमध्येबाट पूर्ण योग्यता प्रणालीका आधारमा पुनः निष्पक्ष छनोट गर्न र पुराना राजनीतिक दलहरूको भागबण्डाको विकल्पमा ‘सुशासन र मेरिटोक्रेसी’को नारा लिएर आएको नयाँ राजनीतिक शक्ति समेत अस्पतालजस्तो संवेदनशील संस्थामा पुरानै विकृति, नातावाद र दलीय कार्यकर्ता भर्ती केन्द्र बनाउन उद्दत देखिएको भन्दै नागरिकस्तरबाट समेत तीव्र आलोचना सुरु भएको छ।