रत्ननगरमा भानुभक्त आचार्यको आशुत्वको चर्चा

भानुभक्तको चर्चा

चितवन । चितवनको रत्ननगरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ । रत्ननगर बाङ्मय प्रतिष्ठानले २११औं भानु जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तले खेलेको भूमिका र उहाँको कवित्व र आशुत्वको विषयमा चर्चा गरिएको हो ।

कार्यक्रममा कवि तथा साहित्यकारहरुले भानुभक्त सामान्य कवि नभएको भन्दै नेपाली कलासंस्कृति संरक्षणमा उहाँको भूमिकालाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार, लेखक तथा साहित्यकार पुरुषोत्तम दाहालले भानुभक्त प्रगतिशिल कवि रहेको भन्दै भानुभक्तको आशुत्व अहिले पनि जीवित इतिहास भएको बताउनुभयो । भानुभक्त जस्तो प्रगतिशिल कवि नेपालमा जन्मिएकै छैन उहाँले भन्नुभयो अब पनि जन्मिदैनन् ।

नारीको अस्थित्व जोगाउन लेखेको कवितालाई लिएर भानुभक्तलाई विवादमा तान्ने काम गरिएको भन्दै उहाँले त्यो अबुझहरुले लगाएको निराधार आरोप मात्र भएको बताए । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले नेपाली कविताको मर्म बुझेर प्रकृति र संस्कृतिलाई छन्द मार्फत लेख्ने शैलीका कारण भानुभक्तलाई आदिकविको उपाधि प्रदान गरिएको बताउनुभयो । प्रा.डा एकनारायण पौडेलले भानुभक्त भानुभक्तको चर्चा गर्दै उहाँको आशुकवित्व कहिल्यै नमर्ने बताउनुभयो । उहाँले भानुभक्तबारे खोज तथा अनुसान्धान गरी उहाँको योगदानको ठेली तयार गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार करुणा उदासी कृष्णद्वारा लिखित तनहुँका धु्रवतारा नामक खण्डकाव्य विमोचन समेत गरिएको हो । बरिष्ठ पत्रकार दाहालले सो पुस्तकको विमोचन गर्नुभएको हो ।

उहाँको पुस्तकमाथि कवि तथा साहित्यकार केशवराज आमोदीले चर्चा गर्नुभएको थियो । रत्ननगर बाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरी श्रेष्ठ, कवि तथा साहित्यकार कपिल अज्ञात लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कवि तथा साहित्यकारहरु धनराज गिरी, यमुना न्यौपाने, राजेन्द्र घायल, रामलाल कुमाल, प्रकासबाबु खनाल, अशोक भूषाल, सामना पहाड, होमनाथ घिमिरे, चिरन्जिवी दाहाल, सुनिता लोककल्याणी, इश्वरी ओझा लगायतले कविता बाचन गनुभएको थियो । रत्ननगर बाङ्मय प्रतिष्ठानका सदस्य तिलकशर्मा पौडेलले स्वागत मन्तव्य राखेका सो कार्यक्रम सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन गरेका थिए ।