चितवनका सात स्थानीय तहका स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

doctors

नारायणगढ (चितवन),असोज ८ –

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ ।

जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष २०८२र८३ को वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरण मूल्याङ्कनमा माडी पहिलो भएको हो ।

माडीले ८६ दशमलव १० अङ्क प्राप्त गरी पहिलो, भरतपुर महानगरपालिकाले ८५ दशमलव ४३ अङ्कसहित दोस्रो र खैरहनी नगरपालिकाले ८२ अङ्कसहित तेस्रो स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा स्थानीय तहले सम्पादन गरेका स्वास्थ्य सेवासम्बन्धी सूचक तथा समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको विवरणका आधारमा मूल्याङ्कन गरिएको हो ।

प्रमुख घिमिरेले भन्नुभयो, “कार्यसम्पादनका आधारमा जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखा उत्कृष्ट छन् । केही सूचकमा भएको अङ्कको फरकका आधारमा मात्र स्थान निर्धारण भएको हो ।”

समीक्षा गोष्ठीका अवसरमा प्रथम, द्वितीय र तृतीय हुने स्वास्थ्य शाखालाई बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झा, तालिम केन्द्रका प्रमुख दीपक तिवारी, मन्त्रालयका जनस्वास्थ्य प्रशासक दुर्गादत्त चापागाईंलगायतको सहभागिता थियो । रासस