काठमाडाैं । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। त्यस्तै, प्रेस चौतारी नेपालले पनि बस्नेतमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेको छ।
बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीवार अपरान्ह काठमाडौंबाट नियन्त्रणमा लिने प्रयास गरेको थियो। महासंघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचारप्रति उजुरी या गुनासो सुन्ने निकाय प्रेस काउन्सील भएको उल्लेख गरेको छ। महासंघका महासचिव रोशन पुरीले ‘प्रेस काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको’ उल्लेख गर्दै ‘प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गरेको’ बताएका छन्।
एक महिलाले आफ्नो चरित्र हत्या हुनेगरी बस्नेत सम्पादक रहेको अनलाइनले समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ब्यूरोमा उजुरी दिएपछि ब्यूरोले उजुरीका सम्बन्धमा सोधपुछ गर्न बस्नेतलाई नियन्त्रणमा लिन खोजेको थियो। ब्युरोका प्रवक्ता एसपी दीपकराज जोशीले बस्नेतलाई पक्राउ गर्ने उद्देश्य नभएर उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा सोधपुछ मात्रै गर्न खोजिएको बताएका छन्