रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता सुरु हुँदै छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता हुने छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने खेलकुद विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । पहिलो वडा लिग प्रतियोगिता पनि गतबर्ष सोही खेलमैदानमा भएको थियो । केही समयपछि हुने रत्ननगर मेयरकप फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना गरिएको संयोजक चौधरीले बताए ।
प्रतियोगिताको प्रथम हुने टिमलाई ५५ हजार र दोस्रो हुने टिमलाई ३० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समितिका संहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा १६ वटा वडाका १६ टिमले भाग लिएका छन् । प्रतियोगिताको टाइसिट समेत प्रकाशिल भइसकेको छ ।