रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिला उद्यमीहरुको लागि क्षमता अभिवृद्धि तथा उद्घोषणकला तालिम सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले उद्यमी महिलाहरुको क्षमता तथा नेतृत्व विकासका लागि दुई दिने तालिम सुरु गरेको हो ।
उद्यमशिलता विकासमा सक्रिय रहेर सामाजिक संघसंस्थाहरुमा समेत अगुवाई गरिरहेका ६० जना उद्यमी महिलाहरुको तालिममा सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा नेतृत्व विकासको लागि तालिमको आयोजना गरिएको भन्दै महिलाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै उत्कृष्ट र उदाहरणीय बन्नको लागि आग्रह गरे ।
पत्रकार रामकान्त पौडेलले सहजीकरण गर्ने तालिमको उद्घाटन सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र आचार्य, रत्ननगर वडा नं १६ का महिला वडा सदस्य सरिता गुरुङ लगायतको आतिथ्य रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, महिला उद्यमी प्रवद्र्धन समितिका संयोजक तथा तालिम संयोजक लक्ष्मी श्रेष्ठ कर्माचार्यले धन्यवाद मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन रत्ननगर उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य ईश्वरी सिंखडा थापाले गरेकी थिइन् ।