Latest News

सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

umll

चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले विज्ञप्ति जारी गरी भरतपुर–२९ स्थित सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुई बसका ६३ बेपत्ता यात्रुमध्ये छैठौँ दिनसम्म केहीको बाहेक ४५ जनाको अवस्था पत्ता लाग्न नसकेको विषयले मर्माहत बनाएको जनाएको छ ।

बेपत्ता यात्रुको लास वा सास फेला पर्न नसक्नुको पीडा आफन्तजनसँगै नेकपा एमाले सिङ्गो पार्टी पंक्तिलाई पनि परेको जनाउँदै कार्यवाहक अध्यक्ष श्यामकुमार विष्टले यस दुःखद दुर्घटनाबाट आहत बनाएको वेदनामा समवेदना प्रकट गरेका छन् ।

उनले नारायणी नदीमा पानीको बहाव घटेसँगै बेपत्ता यात्रुहरुको शव यत्रतत्र देखिन थालेका छन् । शवको खोजी कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न जिल्ला कमिटी चितवन नारायणी नदीको दुवै तटीय क्षेत्रमा रहेका सम्पूर्ण पार्टी पंक्ति एवम् आमजनसमुदायलाई आह्वान गरेका छन् ।

दुर्घटनापछि बेपत्ता यात्रुका आफन्त एवं परिवारजन खोज तलासका लागि चितवनमा केन्द्रित भएको अवस्थामा उनीहरुलाई हरतरहबाट सहयोग गर्नु राज्य, विभिन्न पार्टी पंक्ति, सामाजिक संघसंस्था एवं नागरिक समाजको दायित्व भएकाले आवश्यक परेको खण्डमा दायित्व निर्वाह गर्नबाट नेकपा एमाले चितवन पछि नपर्ने उनले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

विज्ञप्तिमा नारायणगढ–मुग्लिन सडकखण्डको निर्माणसँगै सो खण्डमा माथिबाट पटक–पटक पहिरो जाने र पहिरोकै कारण सयौँ यात्रुले अकालमा ज्यान गुमाइसकेका कारण पहिरो जानुका कारण पत्ता लगाई स्थायीरुपमा नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोक्न अब ढिला भइसकेको ठहर गर्दै सो कार्यमा तदारुकताका साथ लाग्न पनि सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।