Latest News

खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

received_1518130785747316

खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ५ र ७ को नवनिर्मित वडा कार्यालय भवन बुधबार एकै दिन उद्घाटन गरिएको छ ।

अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर १,३,४,८,९ र ११ को भवन बनेपनी यी दुई वडाको आफ्नै भवन बन्न सकेको थिएन । वर्तमान जनप्रतिनिधि आएपछि यी दुई वडा ५ र ७ को कार्यालय भवन निर्माण गरिएको हो । वडा नम्बर ५ को कार्यालय यसअघि तत्कालीन दुर्गा मन्दिर आधारभूत विद्यालयको भवनबाट सेवा दिदै आएको थियो । त्यो विद्यालय मर्ज भएपछि वडा कार्यालय त्यही थियो ।

अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर ६ र वडा नम्बर ७ को कार्यालयबाटै संचालनमा आएपनी वर्तमान जनप्रतिनिधि आएपछि आफ्नै वडामा भाडाको घरमा बस्दै आएको थियो । वडा नम्बर ५ को कार्यालय सोही ठाउँमा र वडा नम्बर ७ को भवन लालटिन बजारमा बनाईएको छ । २०७९ साल माघ १८ गते सम्झौता भई निर्माण सुुरु भएको वडा नम्बर ५ को भवन ५९ लाख २ हजार ७९ रुपैयाँमा सम्पन्न भएको छ ।

त्यस्तै वडा नम्बर ७ को भवन २०८० साल बैशाख २५ गते सम्झौता भई ६८ लाख ८२ हजार रुपैयाँ लागतमा सम्पन्न भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
नवनिर्मित दुबै कार्यालय भवनको खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनिया र उपप्रमुख कविता उप्रेतीले सयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खनियाले आफनै भएपछि सेवा चुस्त,सहज अझ बढी प्रभावकारी बनाउनु पर्ने बताए । अन्य वडाको तुलनामा दुबै वडा सानो रहेकाले बिकास गर्न सहज हुने समेत उनको भनाइ थियो । नगरपालिकामा अझै धेरै काम गर्नुपर्ने अवस्था रहेको र क्रमैसँगै विकास निर्माणको काम हुने उनले बताए ।

नगर प्रमुख खनियाँले अझै पनि वडा नम्बर १३ को नयाँ भवन निर्माण गर्न बाँकी रहेको भन्दै वडा नम्बर ६ र १२ लाई स्तरउन्नती गर्नुुपर्ने अवस्था रहेको बताए । नागरिक र जनप्रतिनिधिबिचको समन्वयमा समग्र खैरहनीको विकासमा सबै लाग्नुपर्नेमा प्रमुख खनियाले जोड दिए ।
नगर उप प्रमुख कविता उप्रेतीले विगतमा एउटै कार्यालयबाट धेरै वडाको काम गरेको स्मरण गर्दै क्रमशै सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भइरहेको बताइन् ।

नगरपालिका स्थापना हुदाँको विकासको अवस्था र अहिलेको अवस्था नागरिकले स्वयंम् मूल्यांकन गर्न सक्ने भन्दै उप प्रमुख उप्रेतीले पुर्वाधार विकाससँगै शिक्षा ,स्वास्थ्य ,कृषि, रोजगारको क्षेत्रमा समेत नगरपालिकाले काम गरिहरको बताइन् । वडा नम्बर ५ मा भएको कार्यक्रम वडा अध्यक्ष छत्रनाथ सुबेदिको अध्यक्षता तथा वडा नम्बर ७ मा भएको कार्यक्रम सोही वडाका वडा अध्यक्ष मनेजर महतोको अध्यक्षतामा भएको थियो ।

वडा नम्बर २ को कार्यालय तत्कालीन चैनपुर गाविस भवन ,वडा नम्बर ६ को कार्यालय तत्कालीन खैरहनी गाविस ,वडा नम्बर १० को कार्यालय तत्कालीन कठार गाविस र वडा नम्बर १२ को कार्यालय तत्कालीन कुमरोज गाविसकै पुरानो भवनमा संचालनमा छन् । वडा नम्बर १३ लाई कुमरोज सामुदायिक वनले गवैमा आफ्नो भवन हस्तान्तरण गरेपछी सोही भवनबाट सेवा दिदै आएको छ ।