Latest News

विरेन्द्र आदर्शलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह

received_455948777282129

राप्ती । पुर्वी चितवनको विरेन्द्रनगरमा रहेको विरेन्द्र आदर्श माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह प्राप्त गरेको छ ।

राप्ती नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयलाई एक कार्यक्रमको बिच अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह हस्तान्तरण गरिएको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा , शिक्षा विकास इकाई चितवनका प्रमुख भुमिलाल सुवेदी ,राप्ती ७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी लगायतको उपस्थितिमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

युनाइटेड एकृडिटेसन फाउन्डेसनको अन्तर्गत ग्लोबल क्वालिटी काउन्सिलका अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रतिनिधि नारायण प्रसाद दवाडीले विद्यालयलाई गुणस्तर चिन्ह हस्तान्तरण गरेका हुन् । सोही क्रममा बोल्दै दवाडीले विद्यालयले पहिलो चरणको व्यवस्थापकिय कार्यहरु गरि २० प्रतिशत काम गरेकोले अहिले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिएको बताए ।

अब विद्यालयले तिनवर्ष भित्र अन्य विभिन्न सुचकहरु पूरा गर्दै बाकी ८० प्रतिशत काम गर्नुपर्ने उनले बताए । अन्य सुचकहरु पूरा गरे मात्रै विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गर्ने दवाडीले बताए । कार्यक्रममा बोल्दै शिक्षा विकास इकाइ भरतपुरका प्रमुख भुमिलाल सुवेदी, वडा अध्यक्ष सुमिता डल्लाकोटी लगायतले विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि गर्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले नगरपालिकामा शैक्षिक गुणस्तर खस्केकोमा आफू चिन्तित रहेको भन्दै सबै मिलेर विद्यालयको गुणस्तर वृद्धिमा लाग्नुपर्नेमा जोड दिए । राप्तीका जनप्रतिनिधिबिचको आपसी बेमेलको कारण शिक्षा क्षेत्रमा प्रयाप्त ध्यान दिन नपाएकोले पछिल्लो समयको एसइई परिक्षामा नतिजा राम्रो नआएको हुनसक्ने भन्दै अब शिक्षालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कंडेलले नतिजा राम्रो नआउनुको मुख्य जिम्मेवारी शिक्षकहरुले लिनुपर्ने बताए । संस्थागत विद्यालयले परिक्षाको अन्तिम दिनसम्म समेत विद्यार्थीहरुलाई पठनपाठन र परिक्षाको तयारीमा सहयोग गर्ने गरेको तर सामुदायिक विद्यालयका शिक्षकहरुले त्यति प्राथमिकता नदिदा सामुदायिक विद्यालयको नतिजा खस्केको दावी गरे । उनले शिक्षकहरुले बिशेष ध्यान दिए आगामी दिनमा नतिजा सुधार गर्न सकिने बताए ।

अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयले शिक्षण सिकाईको विधिलाई प्रविधिमैत्री बनाएको छ । विद्यालयले शिक्षकहरुलाई ४३ वटा ल्यापटप वितरण गरेको र २१ वटा कक्षा कोठामा प्रोजेक्टर जडान गरि प्रविधिमैत्री रुपमा अध्यापन भइरहेको विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीले जानकारी दिए । विद्यालयमा गणित प्रयोगशाला , विज्ञान प्रयोगशाला , कम्प्युटर ल्याव लगायतको सुविधा रहेको उनले बताए । २०२३ सालबाट संचालनमा आएको विद्यालयमा कक्षा १० सम्म ९ सय ५ जना विद्यार्थी रहेका छन् ।