Latest News

सिमलताल दुर्घटना : १३ जनाको शव फेला, सात जनाको सनाखत हुन बाँकी

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता भएका बस र यात्रुको खोजी गर्न आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ ।

खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो ।

यस प्रविधिले ३०० मिटर गहिराइसम्मको अवस्थाबारे जानकारी दिने बताइएको छ । यद्यपी अहिलेसम्म बस र यात्रु फेला परेको छैन ।

त्रिशूलीमा बेपत्ता भएका यात्रुको शव भने भारतको वाल्मीकि नहरसम्म फेला परेका छन् । अहिलेसम्म १३ जनाको शव फेला परेको छ, जसमा सात वटा शवको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म भारतको वाल्मीकि नहरमा चार वटा, गण्डक व्यारेजमा एउटा मध्यविन्दुको भुताहामा एउटा र सुस्तामा एउटा शव फेला परेको छ ।

वाल्मीकि नहरमा फेला परेका चार शवमध्ये दुई वटाको सनाखत भएको छ । भरतपुर–२२ पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मियाको शव सनाखत भएको हो । अन्दाजी १९ वर्षीय एक महिला र अन्दाजी ३० वर्षीय एक पुरुषको सनाखत नभएको पौडेलले जानकारी दिए ।

सुस्ता गाउँपालिका–१ मा फेला परेको एउटा शवको सनाखत भएको छ । उक्त शव बाराका ४३ वर्षीय परमानन्द पण्डितको भएको खुलेको उनले बताए ।

मध्यविन्दुको भुताहामा अन्दाजी ४० देखि ४५ वर्षको एक पुरुष र गण्डक व्यारेजमा सोमवार दिउँसो अन्दाजी १३ वर्षीय एक बालकको शव फेला परेको उनले जानकारी दिए । ती शवको पनि सनाखत नभएको उनले बताए ।

त्यसअघि भरतपुर–२८ गोलाघाटमा दुई, भरतपुर–२६ सिसुवारमा एक र गैंडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीका टापुमा तीन यात्रुको शव फेला परेको थियो । ती शवको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।