शव राख्ने ठाउँ अभाव भएपछि देवघाटमा सामूहिक अन्त्येष्टि सुरु

deadbody burry

चितवन, भदौ १३-

रसुवा तथा तिब्बत क्षेत्रमा आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीमा बगेर आएका २३३ शव चितवनका त्रिशूली र नारायणी नदी किनारबाट फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन तथा सुरक्षा निकायको खोजी अभियानका क्रममा ती शव संकलन गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार हालसम्म चार शवको मात्रै सनाखत भएको छ भने २२९ शवको पहिचान खुल्न बाँकी छ।

शव राख्ने ठाउँको अभाव
ठूलो संख्यामा शव फेला परेपछि भरतपुर अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा शव व्यवस्थापन गर्न कठिनाइ भएको छ। शवगृह तथा उपलब्ध शीत भण्डारण क्षमताभन्दा धेरै शव भएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रशासनले जनाएको छ।
लामो समयसम्म उचित संरक्षण हुन नसक्दा शव बिग्रन थालेका छन्। उच्च तापक्रम र फ्रिजरको अभावका कारण स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

सोही निर्णयअनुसार देवघाटमा सामूहिक अन्त्येष्टि सुरु गरिएको जिल्ला प्रशासनले जनाएको छ। पहिचान खुल्न सक्ने सम्भावना रहेका शव तथा अवशेषको आवश्यक प्रक्रिया र नमुना संकलनलाई प्राथमिकता दिइएको बताइएको छ।