चितवन, भदौ १३-
नारायणी नदीमा भेटिएका शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागिएको ठाउँको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ, चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जलदेवी सामुदायिक वन भित्र सनाखत नभएका शव व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राधेश्याम खतिवडा र पत्रकार सन्तकुमार चौधरीलगायतका सञ्चारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मीबाट समाचार संकलनमा अवरोध पुर्याइएको हो।
विज्ञप्तिमा पत्रकार खतिवडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मोबाइलका फोटो तथा भिडियोहरू मेटाएको उल्लेख छ।
भदौ १० गते आएको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको निरन्तर जानकारी दिनु पत्रकारको पेसागत धर्म भएको स्मरण गराउँदै महासंघले सार्वजनिक सरोकारका विषयमा जुनसुकै अवस्थामा नागरिकको सुसूचित हुने अधिकारको सुनिश्चितता गर्न सरोकारवाला पक्षसँग जोडदार माग गरेको छ।