रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

rasuwa-badhi

काठमाडौं, भदौ १०–

रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।

विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको भन्दै आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको छ।

बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।