चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ हुँदै

building material

चितवन,साउन २६-

घरजग्गा व्यवसाय, भवन निर्माण तथा निर्माण सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ आयोजना हुने भएको छ। एसवन होम्स र भी ग्रुप इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवन उद्योग संघस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्न लागिएको हो। घरजग्गाको कारोबार, भवन निर्माण तथा निर्माणका लागि आवश्यक सामग्री र प्रविधिबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पो संयोजक सुरज न्यौपानेले जानकारी दिए। देशकै केन्द्रविन्दुका रूपमा रहेको चितवनमा घरजग्गा तथा निर्माण क्षेत्रको व्यवसायलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गर्न लागिएको उनले बताए।

“गत वर्ष पनि हामीले घर बनाउने मेला आयोजना गरेका थियौं। त्यसमा प्रदर्शक तथा सेवाग्राहीबाट उल्लेखनीय साथ पायौं। त्यसैलाई परिमार्जन र विस्तार गर्दै यसपटक दोस्रो चरणको एक्स्पो आयोजना गर्न लागेका हौं,” न्यौपानेले भने।घरजग्गा तथा निर्माण सामग्रीका विक्रेता र क्रेतालाई एउटै स्थानमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ। घर तथा आवास निर्माणलाई गुणस्तरीय, सुरक्षित र सहज बनाउन सरकारी निकाय तथा निजी क्षेत्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको भी ग्रुप इभेन्ट्सका अध्यक्ष विपिन कँडेलले बताए।

“मानिसको जीवनको ठूलो सपना र आवश्यकता अन्ततः घर तथा जग्गासँग जोडिन्छ। यस क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन एक्स्पोले सहयोग पुग्ने विश्वासका साथ आयोजना गर्न लागेका हौं,” कँडेलले भने। एक्स्पोमा अत्याधुनिक, बलियो, भूकम्पप्रतिरोधी, टिकाउ तथा आकर्षक घर निर्माणसम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। घर निर्माणमा प्रयोग हुने आवश्यक सामग्री, सरकारी मापदण्ड, सुरक्षा तथा निर्माण प्रविधिबारे समेत जानकारी उपलब्ध गराइनेछ।

एक्स्पोलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सरोकारवालासँग राय–सुझाव संकलन भइरहेको आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने एक्स्पोबाट निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, विद्यार्थी तथा सर्वसाधारण उपभोक्तालाई लाभ पुग्ने आयोजकको विश्वास छ। आयोजकले उद्योगी, व्यवसायी, निर्माण सामग्रीका बिक्रेता, सेवाप्रदायक तथा सर्वसाधारण उपभोक्तालाई एक्स्पोमा सहभागी हुन आग्रह गरेको छ। साथै, आफ्नो व्यवसाय तथा उत्पादनको प्रवर्द्धन गर्न इच्छुक प्रदर्शकलाई समयमै स्टल बुकिङ गर्न अनुरोध गरिएको छ। चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने एक्स्पो चितवन एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ।