समस्याग्रस्त बाघको व्यवस्थापनपछि घट्यो मानवीय क्षति

bengal-tiger-animal-wildlife-stock-getty

चितवन,साउन २६-

नेपालमा बाघको सङ्ख्या बढ्दै गए पनि बाघको आक्रमणबाट हुने मानवीय क्षति भने घट्दो क्रममा रहेको पाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ।

सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या ३५५ थियो। चार वर्षको अवधिमा बाघको सङ्ख्या ७४ ले बढेको हो। सबैभन्दा धेरै बाघ पाइने चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा समेत बाघको सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ।

बाघको सङ्ख्या बढे पनि त्यसको तुलनामा मानवीय क्षति भने कम हुँदै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालभर बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको थियो। जसमध्ये बाँकेमा चार, पर्सामा तीन, बर्दियामा दुई र चितवनमा एक जनाको मृत्यु भएको हो।

पछिल्ला पाँच वर्षमा नेपालभर बाघको आक्रमणबाट ६८ जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ। सबैभन्दा बढी आर्थिक वर्ष २०७८/७९ मा बाघको आक्रमणबाट २१ जनाको मृत्यु भएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार बाघको सङ्ख्या बढ्दैमा मानवीय क्षति पनि बढ्नुपर्छ भन्ने बुझाइ सही होइन।

“बाघको सङ्ख्या बढेको छ भन्दैमा त्यसले मानिसमाथि आक्रमण गर्छ भन्ने हुँदैन। समस्याग्रस्त बाघको समयमै पहिचान र व्यवस्थापन गर्न सकियो भने मानवमाथि हुने आक्रमण घटाउन सकिन्छ,” आचार्यले बताउनुभयो।

चितवन राष्ट्रिय निकुञ्ज नेपालमा सबैभन्दा धेरै बाघ रहेको निकुञ्ज हो। निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा चितवन तथा आसपासका क्षेत्रबाट १० वटा समस्याग्रस्त बाघ उद्धार गरिएको छ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक, २०८१/८२ मा दुई र २०८०/८१ मा सात वटा समस्याग्रस्त बाघ उद्धार गरिएको थियो।

विसं २०८१ साउन १८ गते ठोरी क्षेत्रमा प्रवेश गरेको एउटा भाले बाघलाई उद्धार गरी सौराहास्थित बाघको खोरमा राखिएको थियो। त्यसको चार दिनपछि साउन २२ गते भरतपुर महानगरपालिका–१, नारायणगढमा मानिसलाई घाइते बनाएको अर्को भाले बाघलाई उद्धार गरी निकुञ्जको कोर क्षेत्रमा छाडिएको थियो।

सूचना अधिकारी मगरका अनुसार बस्तीमा प्रवेश गर्ने, मानिसलाई घाइते बनाउने वा ज्यान लिने, पशुचौपायामा क्षति पुर्‍याउने तथा उखुबारीमा प्रवेश गर्ने बाघलाई समस्याग्रस्त बाघका रूपमा पहिचान गरी आवश्यक व्यवस्थापन गरिँदै आएको छ।

“समस्याग्रस्त बाघलाई उद्धार गरी केहीलाई सौराहा तथा कसरामा रहेका बाघका खोरमा राखिएको छ। केहीलाई बर्दिया पठाइएको छ भने केहीलाई उपचारपछि प्राकृतिक वासस्थानमा छाडिएको छ,” मगरले भन्नुभयो।

मानव–बाघ द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका विज्ञ डा. बाबुराम लामिछानेका अनुसार बाघको सङ्ख्या बढे पनि मानवीय क्षति घट्नुको मुख्य कारण संरक्षण व्यवस्थापनमा आएको सुधार हो।

उनका अनुसार बाघको महत्व र संरक्षणबारे स्थानीय तहसम्म जनचेतना बढ्नुका साथै समस्या उत्पन्न गर्ने बाघको तत्काल पहिचान, उद्धार, उपचार र व्यवस्थापन गर्ने प्रणाली प्रभावकारी बन्दै गएको छ।

बाघको सङ्ख्या वृद्धि र मानवीय क्षति न्यूनीकरण एकअर्काका विपरीत विषय नभएको विज्ञहरूको भनाइ छ। समस्याग्रस्त बाघको समयमै व्यवस्थापन, स्थानीय समुदायमा सचेतना तथा मानव–वन्यजन्तु सहअस्तित्वका उपायलाई प्रभावकारी बनाउन सके बाघ संरक्षणसँगै मानवीय सुरक्षा पनि सुनिश्चित गर्न सकिने देखिएको छ।