चितवन,साउन २६-
जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याउन सहजिकरण गरेको छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पु¥याइएको हो ।
गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यासको अभाव भएका आश्रमहरुमा समेत आश्रममा नै ग्यास पुर्याइएको हो ।
उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्मकोमा अनुगमन गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो । उद्योगीले ग्यास प्रयाप्त मात्रामा झारेको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गर्न लागिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा लागेको हो । जिल्लामा मासिक एक लाख २० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक छदेखि सात हजार हाराहारी वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरु गरिएको अर्यालले बताउनुभयो । अहिले जिल्लामा साईबाबा, बाबा र नेपाल ग्याँस उद्योग रहेका छन् । ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्याँस पठाउँदै आइएको छ ।
बाबाग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार यहाँका उद्योगहरुले चितवनसहित विभिन्न जिल्लाहरुमा ग्यास पठाउँदै आएका छन् । भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उहाँले बताउनुभयो । बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ । कालाखेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ । त्यस्तै ग्याँस दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्याँस दिएको र माग बढेकाले समसया भएको हो । उहाँले भन्नुभयो, “केही समयलाई आधा सिलिण्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई वढाउन सके समस्याको समाधान हुन्छ ।” आवश्यकमात्रै सिलिण्डर साट्न र भण्डारण नगरेमा छिट्टै समाधान हुने उहाँले बताउनुभयो ।