चितवन, साउन १-
सरकारले ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसायीहरूको आन्दोलन चितवनमा दोस्रो दिन पनि जारी रहेको छ।
चरणबद्ध आन्दोलनअन्तर्गत शुक्रबार व्यवसायीहरूले सूचना–मूलक प्लेकार्ड बोकेर भरतपुरका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन्। यस क्रममा इक्यान (ECAN) चितवन को आयोजनामा भरतपुरको चौबीसकोठी क्षेत्रमा केही समय प्रदर्शन गरिएको थियो।
प्रदर्शनपछि सहभागीहरू इक्यान चितवनको कार्यालयमा पुगेर कोणसभा आयोजना गर्दै सरकारद्वारा ल्याइएको नियमावलीप्रति आफ्नो असहमति व्यक्त गरेका थिए।
व्यवसायीहरूले नयाँ नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई अनावश्यक रूपमा प्रभावित गर्ने, सेवा प्रवाहमा जटिलता थप्ने तथा व्यवसाय सञ्चालनमा नकारात्मक असर पर्ने दाबी गरेका छन्। उनीहरूले सरोकारवाला निकायसँग पर्याप्त छलफल र सहमति बिना नियमावली लागू गरिएको भन्दै यसलाई संशोधन गरी व्यवसायमैत्री व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनरत छाता संगठनहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूले सरकारसँग संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै शैक्षिक परामर्श क्षेत्रको हितलाई ध्यानमा राखेर नियमावली पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।