नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न

sunai karyakaram

चितवन, साउन १-

माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वदेश एफएमको सहजीकरणमा नगरसभा हल, बसन्तपुरमा आयोजित कार्यक्रममा नगरवासीले विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका छन्।

सुनुवाइमा बोल्दै माडी–७ का हरि रानाभाटले भूमिगत सिँचाइभन्दा सतही सिँचाइ प्रणालीमा लगानी बढाउन, रिचार्ज पोखरी निर्माण गर्न, जथाभावी टहरा निर्माण रोक्न, आत्महत्याका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न, बसन्तपुर बजारको पार्किङ व्यवस्थापन गर्न तथा मगोई नदीमा व्यवस्थित दाहसंस्कार स्थल तोक्न सुझाव दिए। त्यस्तै, माडी–९ की जौमाया पौडेलले गोविन्दबस्ती–प्याउली सडक कालोपत्रे गर्न, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा र परिचयपत्र उपलब्ध गराउन, कृषि अनुदानमा साना तथा निर्वाहमुखी किसानलाई पनि समेट्न तथा ट्र्याक्टर भाडादर घटाउन वा अनुदानको व्यवस्था गर्न आग्रह गरिन्।

यसैगरी, माडी–३, इनारबरुवाका हरिकृष्ण चौधरीले निकुञ्जभित्रको सडक दुवैतर्फ बढेको झाडी सफा गर्न, बनकट्टा गेटको स्वागत बोर्ड मर्मत गर्न, रीउ खोलाको पुरानो पुल मर्मत गर्न, मगोई र बाँदरमुढे पुलको पहुँच सडक कालोपत्रे गर्न तथा अलपत्र रहेको थारु सङ्ग्रहालयलाई सञ्चालनमा ल्याउन अनुरोध गरे। नागरिक समाज माडीका संयोजक रमाकान्त सापकोटाले मालपोत तथा भूमिकर अत्यधिक भएको गुनासो गर्दै जग्गाको मूल्याङ्कन पुनरावलोकन गरी कर घटाउन माग गरे। साथै गोद्धकधाम, धनलक्ष्मी छाँगोको विकास, मुटुरोगीका लागि उपचार सहयोग र बाँदरमुढेमा यात्रु प्रतिक्षालय निर्माण गर्न सुझाव दिए।

अपांगता समाज माडीका अध्यक्ष यमबहादुर अधिकारीले अपांगता भएका सबै नागरिकले परिचयपत्र नपाएको, माडी–ठोरी रुटमा ५० प्रतिशत भाडा छुट कार्यान्वयन नभएको र ग तथा घ वर्गका अपांगता भएका नागरिकलाई स्वास्थ्य बीमामा समेट्न आवश्यक पहल गर्न आग्रह गरे। उहाँले विकास योजनाहरू समयमै सम्पन्न गर्न पनि ध्यानाकर्षण गराए। माडी–६ का श्रीप्रसाद दवाडीले पर्यटकीय क्षेत्रमा लगाइएको प्रवेश शुल्कको व्यवस्था पुनर्विचार गर्न, निकुञ्जभित्रको सडक मर्मत तथा झाडी सफा गर्न, प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रधानाध्यापक नियुक्ति सुरु गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै परुई खोलाको प्राकृतिक जलाधार संरक्षणमा ध्यान दिन सुझाव दिए।

कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ नगर प्रमुख तारा कुमारी काजी महतो तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले दिएका थिए। नगर प्रमुख तारा कुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार एवं विश्वविद्यालयका अध्यापक देवनारायण शाहले गर्नुभएको थियो। कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।