चितवन , असार ७ –
चितवनको भरतपुरमा आजबाट सुरु हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेको रास्वपाले जनाएको छ ।
तर, रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन् । कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन् । एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।
त्यस्तै, जनमतका अध्यक्ष डा.सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन् । यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन् । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आइतबार उदघाटन हुँदैछ असार ८ र ९ गते बन्द सत्र र निर्वाचन हुनेछ ।