चितवन, जेठ २२-
बहुप्रतीक्षित भरतपुर–माडी जोड्ने निकुञ्ज सडक निर्माणका लागि संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले ९ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निश्चित भएको छ। चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा संघीय कानुनमन्त्री सोविता गौतमको सचिवालयका अनुसार मन्त्रालयले तयार गरिरहेको आगामी आर्थिक वर्षको रातो किताबमा उक्त सडकका लागि ९ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको हो।
हाल सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रिया अन्तिम चरणमा रहेकाले पहिले सो प्रक्रिया पूरा गरिने र त्यसपछि सुनिश्चित बजेटबाट कालोपत्रे सडक निर्माणको काम अघि बढाइने जनाइएको छ। सचिवालयका अनुसार मन्त्री गौतमले निकुञ्जभित्र सडक निर्माणसहित माडी तथा चितवन क्षेत्र नं. ३ का विभिन्न पूर्वाधार योजनालाई प्राथमिकतामा राख्दै सम्बन्धित मन्त्रालयसँग निरन्तर समन्वय गरिरहनुभएको छ।
यसैबीच, संघीय सरकारले नै निकुञ्जभित्र सडक निर्माणका लागि बजेट सुनिश्चित गरेपछि माडी नगरपालिकाले नगर कार्यपालिका र वडा कार्यालयहरूको बजेट कटौती गरेर मोजाइक टायल बिछ्याउन छुट्याएको रकमको औचित्यमाथि प्रश्न उठेको छ। स्थानीयवासीहरूले पनि मोजाइक टायलको सट्टा कालोपत्रे सडक निर्माण हुने अपेक्षा बढेको बताएका छन्। निकुञ्ज सडक निर्माण माडीवासीको लामो समयदेखिको प्रमुख मागमध्ये एक मानिन्छ। सडक निर्माणले माडी र भरतपुरबीचको आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ।