चितवन, जेठ २४-
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी बजारमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गत जेठ १९ गते राति अन्दाजी १०:१० बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ५९५१ नम्बरको ट्रकले ती पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६७ वर्षीय पुरुषको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा उपचारकै क्रममा जेठ २३ गते मृत्यु भएको हो। मृतकले आफ्नो नाम रामप्रसाद अधिकारी बताए पनि उनको स्थायी ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–४ बस्ने ५१ वर्षीय भविश्वर बि.क. रहेका छन्। प्रहरीले यस घटनालाई ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।