रत्ननगर । रत्ननगर नगरपालिकाले कृषि र पशुपालनलाई सौराहाको पर्यटनसंग जोड्ने गरी आबधिक योजना निर्माण गरेको छ । पर्यटकीय सहर समुन्नत रत्ननगरको अबधारण आत्मसाथ गर्दै आर्थिक बर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि आवधिक योजना निर्माण गरिएको हो ।
आबधिक योजनामा दीर्घकालिन लक्ष्य प्राप्तीका सुचकहरु समावेश गरिएको छ । सेवा प्रदायक संस्था सिनर्जी इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्ट्स प्रा.लि.ले चार महिनामा निर्माण गरेको आबधिक योजना मंगलबार नगरपालिकालाई हस्तान्तरण गरेको हो । प्रा.लि.का प्रबन्ध रवि आचार्यले रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । आबधिक योजना हस्तान्तरण कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडाध्यक्षहरु सहित शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो ।
पर्यटन, कृषि र पशुपालनलाई प्राथमिकता दिइएको आबधिक योजनामा सौराहाको निकटमा रहेका क्षेत्रहरुमा कृषि र पशुपालनको व्यवसायिक विकास गरी हेर्न लायक बनाउने गरी दीर्घकालिन लक्ष्य निर्धारण गरिएको मेयर प्रलाद सापकोटाले बताए । पञ्चबर्षीय आबधिक योजना र दीर्घकालिन योजना सफल कार्यान्वयन गरी नगरबासीको विकासप्रतिको अपेक्षा पुरा गर्ने उनको भनाई छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई सिरानी हालेर रत्ननगरको समग्र विकास गर्ने र सौन्र्दयकरण गरी रत्ननगरलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने मेयर सापकोटाले बताए । हाम्रो योजना आबधिकमा मात्र खुम्चिने होइन उनले भने आबधिकलाई आधार बनाएर दीर्घकालिन प्रभाव पर्ने गरी विकास गर्नेछौं ।
कृषि र पशुपालनलाई पर्यटकले हेर्न लायक बनाउने, आर्कषक पार्कहरु निर्माण तथा पर्यटकीय होटलहरुको सेवालाई प्रभावकारी बनाउने गरी दीर्घकालिन लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । सौराहा देखि माथिल्लो क्षेत्र कृषिमा आधारित छन् उनले भने परम्परागत खेतीलाई सुधार गर्दै व्यवसायिक बनाउने र पशुपालनका फर्महरु निर्माण गरी पर्यटकले हेर्न रुचाउने खालका बनाउने योजना निर्माण गरिएको भन्दै उनले दीर्घकालिन लक्ष्य प्राप्तीको लागि उद्देश्य तोकिएको छ, लक्ष्य निर्धारण गरिएको बताए । कृषि, पशुपालन र पर्यटनसंगै रत्ननगरले नगरबासीको विकास प्रतिको आँकाक्षा पुरा गर्न पूर्वाधार विकासलाई उचाईमा पु¥याउने, शिक्षालाई सर्बसुलभ र स्वास्थ्यलाई नागरिकको सहज पहुँचमा लैजाने गरी योजना बनाएको छ । हरेक आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रममा आबधिक योजनाले लिएको लक्ष्यहरु पुरा गर्न योजनाहरु समावेश गरिने छ ।
आबधिक योजनाले लिएको लक्ष्यहरु पुरा गर्न स्थानीय सरकार, प्रदेश र संघीय सरकारसंग बजेट माग गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसहकारी संस्थाहरुबाट स्रोत संकलन गर्ने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । उपमेयर पाठकले अबधिक योजनामा रत्ननगर नगरपालिकाको विद्यामान अबस्था र पाँच बर्ष पछाडि प्राप्त हुने परिणात्मक लक्ष्य निर्धारण गरिएको बताए । लक्ष्य हासिल गर्न रणनीतिक तयार गरिएको छ उनले भने बजेटका कारण योजना कार्यान्वयनमा चुनौति छ, तर पनि हामी सफल हुनेछौं । नेपाल सरकारले अहिले १६औं अबधिक योजनामा काम गरिरहेको छ । प्रदेश सरकारले पहिलो आबधिक योजना सकेर दोस्रो आबधिक योजनामा काम गरिरहेका बेला रत्ननगर नगरपालिकाले दीर्घकालिन लक्ष्य प्राप्तीका लागि बलियो आबधिक योजना तयार गरेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।