काठमाडौं, २२ असोज । हालै आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान खानेपानी मन्त्रालयले गरेको छ ।
११ र १२ असोजको भीषण वर्षापछि आएको बाढीपहिरोले १ हजार ६ सय १६ आयोजनामा क्षति पुगेको र २५ लाख जनसंख्यालाई प्रत्यक्ष रूपमा असर परेको खानेपानी मन्त्रालयको प्रारम्भिक अनुमान रहेको छ ।
यस्तै ५८ जिल्लाका ५ लाख घरधुरी प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सीडीई वीरेन्द्र कँडेलका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरी लगायत जिल्लामा धेरै क्षति पुगेको छ ।
उनका अनुसार सबैभन्दा धेरै क्षति काठमाडौं उपत्यका खानेपानी लिमिटेडको केयूकेएलको १ अर्ब रुपैयाँ रहेको छ । काभ्रेको तेमाल खानेपानी आयोजनामा १० करोड क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न आयोजनाहरूमा इन्टेक, सम्प बेल, पाइपलाइन, पानी ट्यांकी, प्रशोधन प्लान्टमा क्षति पुगेको छ ।
यस्तै जीआई पाइप, एचडीपीई पाइपहरू बगाएको छ । फोहोर पानी प्रशोधन प्लान्टहरूमा क्षति पुगेको भन्दै मन्त्रालय संरचनामा क्षति पुर्याए पनि यकिन विवरण अहिलेसम्म संकलन गर्न सकेको छैन ।
मन्त्रालयका सीडीई वीरेन्द्र कँडेलले क्षतिको विवरण अहिले प्रारम्भिक रूपमा मात्रै आएको र पूर्ण विवरण आउन अझै बाँकी रहेको बताए ।
‘हामीले अहिले जति संकलन भयो, त्यति नै टिपोट गरेका छौं, अझै केही क्षतिका विवरण नआएको हुनसक्छ । विस्तारै आउँछ । खानेपानी आपूर्ति सहज गर्न मन्त्रालयले जतिसक्दो काम गरिरहेको छ,’ कँडेलले भने ।
अविरल वर्षाले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको खानेपानी मन्त्री प्रदीप यादवले बताए ।
बाढीपहिरो गएकै दिन मन्त्रालयमा आकस्मिक बैठक डाकेर प्रणालीको क्षति र पुनर्स्थापनाका रणनीतिमा छलफल गरेर काम गरिरहेको उनले बताए ।
खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गरेर जनतालाई नियमित पानी आपूर्तिमा कुनै बाधा नपुग्ने सुनिश्चित गर्न, आवश्यक प्राविधिक सहायता र स्रोतसाधन तुरुन्त परिचालन गर्ने निर्देशन दिइसकेको उनले बताए ।
मेलम्ची आए पनि समस्या
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार आजबाट मेलम्चीको पानी वितरण सुरु भएपनि प्रणालीमा अझै समस्या रहेको छ ।
बाढीले धेरैवटा वितरण केन्द्रको पम्प र पाइपमा क्षति पुर्याएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।
‘हाम्रो अहिले धेरै ठाउँको प्लान्ट र पम्प बिग्रेको छ । धेरै पम्प डुबानमा परेर बन्द भएका छन्, केही बगाएका पनि छन् । त्यो सबै क्षतिको विवरण संकलन हुँदैछ । कतिपय ठाउँमा हिलो जमेर नदेख्ने अवस्थामा छन्,’ राईले भने ।
उनका अनुसार केयूकेएलको मुहान रहेको शिवपुरी वन क्षेत्रको केही स्थानमा पहिरो जाँदा बिग्रेको छ । ‘केयूकेएल पूर्ण क्षमतामा चल्न केही समय अझै लाग्ने देखिन्छ,’ राई भन्छन् ।
मकवानपुरको थाहा नगरपालिकामा मात्रै २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीपहरोले खानेपानीका १८ वटा इन्टेकमा क्षति पुगेको छ । त्यसैगरी २४ वटा खानेपानी रिजर्भ ट्यांकीमा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।