नवलपुर । दशै तिहार छट जस्ता चाडपर्व लक्षित गरी यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा हुन सक्ने लुटपाट, चोरीका साथै यात्रुहरु माथि हुन सक्ने दुव्र्यवहार र मनपरी भाडा असुली रोक्न प्रहरीले यात्रुवाहक वसमा एक जना महिला र एक जना पुरुष गरी २ जना प्रहरी सादा पोशाकमा खटाउने भएको बताए । उनले यसका लागि कम्तिमा १० जना प्रहरी छुट्याइएको र उनीहरुले नियमित सादा पोशाकमा बस भित्रै यात्रु बनेर बसेर गस्ती गर्ने बताए । नवलपुरको दाउन्नेदेखि गैडाकोटसम्म शंकास्पद लागेको बस वा जुनसुकै बसमा छड्के गर्ने गरी प्रहरीलाई नै यात्रु बनाएर राख्ने उनले बताए ।
यो योजना विहीबार घटनस्थापनाकै दिनदेखि लागु गर्ने जनाएको छन् । गैंडाकोटबाट प्रवेश गर्ने बसमा उक्त स्थानबाट सादा पोशाकका प्रहरी बसमा चढ्ने र दाउन्नेतर्फबाट आउने बसमा सोही स्थानबाट प्रहरी बसमा चढेर निगरानी गर्नेछन् । छड्केमा रहेको प्रहरीले नजिककौ प्रहरी कार्यालय वा राजमार्गमा गस्तीमा रहेको प्रहरीलाई खबर गर्ने र तुरुन्त कारवाही अगाडि बढाउने प्रहरी उपरीक्षक ढकालले बताए । उनले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको समेत बताए ।
प्रहरीले चाडपर्वको समयमा यात्रुबसमा विशेष निगरानी राख्नेदेखि यात्रु सहायता कक्षा स्थापना गर्ने, सादा पोशाकमा गाउँघरमा गस्ती गर्ने, बसमा क्षमताभन्दा बढी यात्रु चढ्न नदिन ठाउँठाउँमा चेकिङ्ग गर्ने लगायत योजना रहेको बताए । प्रहरीले सार्वजनिक क्षेत्र, यात्रु चढ्ने, उत्रने मुख्य स्थानहरुमा समेत निगरानी बढाउने उनले बताए । यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा ८ वटा यात्रु सहायता कक्ष निर्माण गरिने उनको बताए । चाडपर्वको समया हुन सक्ने घटना नियन्त्रणका लागि सुरक्षा प्रदान गर्न जिल्ला भर ३ सय ४५ प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।