चितवन,१२ असोज । चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण नारायणी लगायतका विभिन्न नदी र खोलाहरुमा ठूलो बाढी आएके छ ।
पछिल्लो २४ घण्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६.२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१.८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७.४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
नारायणी नदीले देवघाटमा खतराको तह नाघेको छ भने जलसतह अझै बढ्दो क्रममा छ । यहाँ जलसतह ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले जलसतह १०.५७ मिटर नाघिसकेको देवघाट जलसहत मापन केन्द्रले जनाएको छ ।
नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ । यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२.७२ मिट पुगेको छ । नारायणी लगायत विभिन्न १३ वटा नदी तथा खोलामा बाढीले खतराको तह नाघेको छ ।