Latest News

बौद्धिक अपाङ्गता भएका विद्यार्थीसंग मनाइयो अपाङ्गता दिवस

1a81355c-b416-4536-8971-3fe73d326cdc (1)

रत्ननगर । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले नेपाल मावि अन्तर्गत बौद्धिक अपाङ्गता इकाईमा अध्ययनरत विद्यार्थीहरुसंग बाइसौँ राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।

दिवसको अबसरमा क्लवले बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई भोजन गराउनुका साथै विभिन्न सामग्री समेत वितरण गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय ३२५ आरका क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ रहेका थिए । रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरे विशिष्ट अतिथि रहेको सो कार्यक्रम क्लबका अध्यक्ष लायन किसनप्रसादको अध्यक्षतामा भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष एवं लायन्स अन्तराष्ट्रिय ३२५ आर का एडिसनल क्याबिनेट सेक्रेटरी लायन सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा महिला विकास अधिकृत घिमिरेले नगरपालिकाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष कार्यक्रमहरू ल्याउने कार्ययोजना तयार भइरहेको भन्दै यसै वर्षदेखि यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयमा आवतजावत गर्नको लागि यातायातको व्यवस्था स्वरूप रु ३ लाख बजेट विनियोजन भइसकेको जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठज्यूले आफूभन्दा कम भाग्यमानीहरूको सेवामा लायन्स क्लब समर्पित रहेको भन्दै विशेष गरेर यस क्षेत्रमा लायन्सले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए । लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त हुने बजेटमा नगरपालिकाले समेत सानो सहयोग गरेमा ठूलाठूला बजेटहरु ल्याएर कार्य गर्न उनको भनाई छ । स्वागत मन्तव्यको क्रममा लाइन सुरेशन्द्र आचार्यले बजारको बीचमा रहेको बजारको बीच भागमा रहेको बौद्धिक अपाङ्गता भएका बालबालिका पढ्ने इकाइमा स्थानीय सरकारको चासो कम भएको आफुले पाएको बताए ।

विद्यार्थीहरूको जिम्मेवारी विद्यालयले शिक्षिकाले वा स्वयं अभिभावकले मात्रै बहन गर्न असम्भव रहेको भन्दै उनले सामाजिक संघसंस्था तथा स्थानीय सरकार र केन्द्रीय सरकारले समेत विशेष योजना बनाएर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको भविष्य सुनिश्चित गर्नु पर्ने आचार्यले बताए । क्लबका सदस्य युवा व्यवसायी सामाजिक व्यक्तित्व लायन विष्णु श्रेष्ठले संयोजन गरेको उक्त कार्यक्रममा टुका आचार्यले लायन्स ब्लवमा आबद्ध सदस्यहरुबाट रकम संकलन गरी सामाजिक काम गर्दै आएको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक रामहरी भण्डारीले आगामी दिनहरूमा विशेष योजनासहित बौद्धिक अपाङ्गता एकाइलाई व्यवस्थित गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।