Latest News

रत्ननगर वडा नं १५ का सुत्केरी र गर्भवतीलाई कुखुरा र घ्यु वितरण

7cb7e8e2-0232-43ee-bf95-5d7210791c7d

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका सुत्केरी र गर्भवती महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ ।

सो नगरपालिका अन्तर्गत वडा नं १५ का सुत्केरी र गर्भवती गरी १५ जनालाई कुखुराको भाले, दुई किलो ध्यू, एक क्रेट अण्डा, मुङको दाल, भटमास लगाएत सरसफाईका सामग्री वितरण गरिएको हो । वडा कार्यालयको विनियोजित बजेटबाट सुत्केरी तथा गर्भवती महिलाको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । बुधवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तामाङ लगायतले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् ।

स्थानीय सरकारले पौष्टिक आहार दिने भएपछि सुत्केरी महिलाहरु काँखमा शिशु च्यापेर सामाग्री लिन आएका थिए । वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी आमा र शिशुको सुरक्षाको लागि पौष्टिक आहार वितरण गरेको बताए । सुत्केरी र गर्भवती महिलालाई प्रदान गरेको उक्त सामाग्री स्थानीय किसानले उत्पादन गरेका हुन । वडाध्यक्ष तामाङले स्थानीय उत्पादनदलाई प्रोत्सहान गर्न स्थानीय किसानहरुले उत्पादन गरेको कुखुरा, अण्डा र ध्यू खरिद गरी वितरण गरेको बताए । सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेबारी हो भन्दै वडाध्यक्ष तामाङले अगाडी भने पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण पाटो हो ।

माधवपुरबासीको सुखदुखमा वडा कार्यालय संगै रहेको सन्देश दिनको लागी पनि कार्यक्रम आयोजना गरिएको हो। सो वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसंगै भ्याक्सिन, भिडियो एक्सरे लगायतका आधारभूत सेवा स्वास्थ्य केन्द्रबाटै प्रदान गर्दै आएको छ ।

कार्यालयले विभिन्न चरण गरि १ सय २३ जना गर्भवती (आमा) र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ। कार्यक्रममा वडा सदस्य शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य स्वयमसेविका लगाएतको उपस्थिती रहेको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर– १५ की इन्चार्ज रोजिना गिरीले संचालन गरेको कार्यक्रममा वडा सदस्य रुकमाया परियारले स्वागत् मन्तव्य राखेकी थिइन् ।