Latest News

विद्यार्थीलाई पुरस्कर र विद्यालयलाई सम्मान

4b8e6862-c129-421d-a50e-e48159f53864 (1)

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले एसईइ परीक्षा २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत र विद्यालयलाई सम्मान गरेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अबसरमा सो नगरपालिकाले सामुदायिक विद्यालय तर्फ पाँच जना विद्यार्थी र दुई विद्यालय तथा संस्थागत तर्फ ६ विद्यार्थी र दुई विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको शिक्षा अधिकृत सुमन सिलवालले जानकारी दिइन् । सामुदायिक विद्यालय तर्फ नेपाल माविका प्रसन्न पौडेलल, सन्देश पौडेल, रोशन क्षेत्री, बैरिया माविका सदिक्षा फुजेल, जनजागृती माविकी प्रमिसा रानामगरलाई पुरस्कृत तथा बैरिया मावि र जनजागृती माविलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

संस्थागत विद्यालय तर्फ पञ्चकन्या विद्या मन्दिरका कुशल पाण्डे, स्काइराइडर आवासीय माविका संयोग देवकोटा, अनिश भट्ट, पुजग डल्लाकोटी, निभा श्रेष्ठ र एकता शिशु निकेतनकी कविता पौडेललाई पुरस्कृत र अर्विट र एकता शिशु निकेतनलाई प्रशंसापत्र सहित सम्मान गरिएको शिक्षा अधिकृत सिलवालले जानकारी दिइन् । विद्यार्थीहरुलाई जनही ५ हजार नगर पुरस्कार प्रदान गरिएको हो । बुधबार रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा मेयर प्रलाद सापकोटा र उपमेयर यादब प्रसाद पाठकले विद्यार्थीलाई पुरस्कृत र विद्यालयका प्राचार्यहरुलाई प्रशंसापत्र सहित सम्मान गरेका थिए ।

सो अबसरमा मेयर सापकोटाले शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुने गरी शिक्षण शिकाइलाई अगाडि बढाउन सामुदायिक विद्यालयहरुलाई आग्रह गरेका छन् । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक अबस्था कमजोर रहेको भन्दै शिक्षामा स्थानीय सरकारले गरेको लगानी खेरजान नहुने बताए । उपमेयर पाठकले सामुदायिक विद्यालयका शिक्षकहरुको कमजोरीका कारण शिक्षामा अहिले सम्म गरेको लगानी खेर गइरहेको बताए । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले समग्र नगरको शिक्षाको अबस्था र भावि योजनाको बारेमा जानकारी गराएका थिए ।

शिक्षक अभिभावक संघ रत्ननगरका अध्यक्ष सरोज लामिछानेले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, व्यवस्थापन समिति र अभिभावक जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ सहित वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगर शिक्षा समितिका सदस्यहरु, शिक्षक संघ तथा संगठनका पदाधिकारी लगाउतको उपस्थिति रहेको थियो ।