रत्ननगर । होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको बछौली माविमा राष्ट्रिय दीगो पर्यटन क्लव गठन गरिएको छ । विद्यार्थी मार्फत पर्यटन विकासमा योगदान गर्ने उद्देश्यले क्लव गठन गरिएको हो ।
सो विद्यालयमा कक्षा ११ र १२ तथा होटल म्यानेजमेण्ट डिप्लोमा पहिलो र दोस्रो सेमेष्टरमा अध्यायनरत विद्यार्थीहरुलाई सहभागी गराएका क्लव गठन गरिएको विद्यालयले जनाएको छ । क्लवको संरक्षकमा निमित्त प्रधानाध्यापक आत्मराम शर्मा तथा दीपेन्द्र श्रेष्ठ संयोजक रहेका छन् । प्रकास महतो क्याप्टेन र राजी गुरुङ कोषाध्यक्ष रहेको सो क्लवको सदस्यहरुमा दिपेश प्रसाद पट्टेल, अन्जना चौधरी, सुर्दशन क्षेत्री, जेसीस चौधरी, सोनिया कुमाल, विवस महतो र स्नेहा महतो रहेका छन् ।
रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले सौराहाको पर्यटनलाई केन्द्रीत गरेर निकटमा रहेको विद्यालयमा होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिएको बताए । उनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्न सक्ने बाताबरण विद्यालयले तयार गरेको बताए । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले सौराहाको पर्यटनमा जनशक्ति तयार गर्ने गरी बछौली माविले सञ्चालन गरेको होटल म्यानेजमेन्टले विपन्न समुदायका विद्यार्थीले अबसर पाएको बताए ।
नेपाल पर्यटन बोर्ड र टुरिजम रिसर्च एण्ड टेनिङ सेन्टरले होटल म्यानेजमेन्ट कक्षाको प्रर्बद्धनको काम गरिरहेको छ । बोर्डका प्रतिनिधि सरोज प्याकुलेरले अहिले सम्म १४० विद्यालय स्तरीय पर्यटन क्लव गठन भइसकेको जानकारी दिए । विद्यार्थी मार्फत नेपाललको पर्यटनमा योगदान गर्ने उद्देश्यले क्लव गठन गरिएको हो । क्लवले पर्यटन सचेतना, वाताबरण संरक्षण, पर्यटन सरसफाई, पर्यटन लेखन प्रतियोगिता लगायतका कामहरु गर्ने उनले जानकारी दिए ।