नवलपरासी । नवलपुरको सदरमुकाम कावासोतीमा नेपाल प्रहरीको नमुना पेट्रोल पम्प बन्ने भएको छ ।
विद्युतीय गाडीहरुको चार्जिङ्ग स्टेशन सहित पेट्रोल पम्प बन्न लागेको हो । पेट्रोल पम्पको शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गरेका छन् ।
शिलान्यास पछि बोल्दै राईले पेट्रोलपम्म अत्यावश्यकीय सेवा रहेकोले प्रहरीले यसमा काम गर्न लागेको बताए । उनले प्रहरीले खोल्ने पम्पमा गुणस्तरीय इन्धनका साथै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ उपलब्धताको लागि सहज हुने बताए ।
प्रहरीले यो पम्पलाई देशकै नमूना पम्प भनेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीको अघिल्तिर प्रहरीले पम्प निर्माण शुरु भएको हो ।
प्रहरीको नाममा महेन्द्रराजमार्गमा रहेको २२ कठठा जग्गामा यो पम्प निर्माण हुन लागेको हो ।
देशकै नमूना भनिएको यो पम्पमा इभि चार्जिङ्ग स्टेशन, गाडी ग्यारेज, क्याफे शप र करिब ६ कठ्ठामा सुन्दर बगैचा समेत निर्माण हुने जानकारी दिए ।
यसैबीच प्रहरीको नाममा रहेको २२ कठ्ठा भित्र रहेको जमिनमा बनेको फलफूल चोकमा रहेको सटर, फलफूल पसल तथा किराना पसलहरु प्रहरीले अब केही दिनमा नै खाली गर्ने भएको छ । प्रहरीले यस अघि ३५ दिने सूचना जारी गरेर उक्त जमिनमा भनेको टहरा तथा संरचना हटाउन निर्देशन गरिसकेको छ ।