चितवन, असोज ७—
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाका सबै पालिका अधिवेशन आज हुँदैछ । त्यसका लागि नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय, भरतपुर–३ ले सूचना जारी गर्दै आज (बुधबार) हुने पालिका अधिवेशनका लागि निर्वाचन कार्यतालिका तथा मतदान केन्द्र तोकेको छ ।
निर्वाचन समितिका अनुसार इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा तोकिएका स्थानबाट निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। निर्वाचन कार्यक्रमअनुसार बिहान ७ बजे पहिलो मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि दाबी–विरोध, जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशनको प्रक्रिया पूरा गरी बिहान ८ देखि १०ः३० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारको पहिलो नामावली प्रकाशनपछि दाबी–विरोध, जाँचबुझ र नाम फिर्ताको प्रक्रिया सम्पन्न गरी अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
मतदान दिउँसो १ः३० बजेदेखि साँझ ४ः३० बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएपछि तत्काल मतगणना सुरु गरिने र मतगणना सकिएपछि परिणाम घोषणा गरिने कार्यतालिकामा उल्लेख छ। कांग्रेस चितवनले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरेको थियो ।
पालिकाअनुसार मतदान केन्द्रः
इच्छाकामना गाउँपालिकाः थकाली सेवा समाज भवन, मुग्लिङ बजार (वडा–५)
कालिका नगरपालिकाः कालिका ब्याङ्क्वेट, कालिका–६ (खोलेसिमल बजार)
खैरहनी नगरपालिकाः लोटस पार्टी भेन्यु, खैरहनी–५
भरतपुर महानगरपालिकाः फुडमार्ट पार्टी प्यालेस (वडा कार्यालय नजिक)
माडी नगरपालिकाः स्वर्गीय कर्णबहादुर स्मृति प्रतिष्ठान, वडा नं. २
रत्ननगर नगरपालिकाः होटल स्टार चितवन, रत्ननगर–१ (निपनी)
राप्ती नगरपालिकाः राप्ती भिलेज रिसोर्ट, राप्ती–६ (भण्डारा)

