भरतपुर,असोज ६-
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत चिकित्सकतर्फ चार जना र समाजसेवीतर्फ दुई जनालाई अस्पतालको सदस्यमा नियुक्त गरेको हो।
मन्त्रालय स्रोतका अनुसार चिकित्सकतर्फ डा. सुरेन्द्र गौचन, डा. शान्ति भुर्तेल, डा. दीपेन्द्र दास र रमिला शिल्पकार नियुक्त भएका छन्। यस्तै, समाजसेवीतर्फ डिल्लीराम भण्डारी र इशा प्रधान सदस्यमा नियुक्त भएका छन्।
यसअघि मन्त्रालयले सदस्य पदमा मनोनयन तथा नियुक्तिका लागि रोस्टर सूचीमा सूचीकृत हुन आवेदन दिएका उम्मेदवारहरूको अन्तर्वार्ता प्रक्रिया अघि बढाएको थियो।
खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्राप्त उम्मेदवारहरूको मूल्यांकनपछि अस्पतालको ऐनबमोजिम रिक्त ६ सदस्य पदमा उनीहरूलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।