चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

chini 100

कृष्ण आचार्य,

भरतपुर,असोज ६-

चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि संचालनमा आएको पसलमा चिनी र नुनमा बिषेश छुट दिइएको छ ।
साल्ट ट्रेडिङ नारायणगढ कार्यालय अनुसार चिनीमा प्रतिकिलो ५ र नुनमा प्रतिकिलो २ रुपैंया छुट दिइएको हो । छुटपछि चिनी प्रतिकेजी १०० रुपैयाँ र आयो नुन प्रतिकेजी २४ रुपैयाँमा उपलब्ध गराइएको साल्ट ट्रेडिङ कर्पोरेशन नारायणगढका प्रमुख बुद्धिबिनोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार चिनी तथा नुन प्रतिव्यक्ति/परिवार बढीमा ६ केजी सम्म उपलब्ध गराइनेछ ।

चाडपर्वका समयमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको दाहालले बताउनुभयो । त्यस्तै तेल, चिउरा, दाल, पिठो तथा मैदा समेत तोकिएको परिमाणमा सहुलियत दरमा बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो । यी वस्तुमा प्रतिकेजी/प्रतिलिटर ७ रुपैयाँसम्म छुट उपलब्ध गराइने छ ।
सहुलियत दरको सुविधा २०८३ असोज १ गतेदेखि लागू भई २०८३ कात्तिक मसान्तसम्म कायम रहनेछ । ज्येष्ठ नागरिक, अशक्त तथा उपभोक्तालाई विशेष प्राथमिकता दिने र सबैको सहयोग प्राप्त हुने अपेक्षा गरिएको साल्ट ट्रेडिङले जनाएको छ । सुपथ मूल्य पसल बिहान ९ः१५ बजेदेखि अपराह्न ४ः३० बजेसम्म खुला रहनेछ । उपभोक्तालाई तोकिएको र आवश्यक मात्रामा मात्र सामान खरिद गर्न कार्यालयले अनुरोध गरेको छ ।

त्यसैगरी अत्यावश्यक सेवा सुविधाअन्तर्गत कार्यालयमा उपलब्ध रहेका सामान मात्र बिक्री गरिने भएकाले उपभोक्ताले आवश्यक वस्तु मात्र खरिद गरी सहयोग गर्न साल्ट ट्रेडिङले आग्रह गरेको छ । साल्ट ट्रेडिङले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने व्यवस्था यसअघि पनि गर्दै आएको थियो ।