केराको मूल्य आधा घटेपछि चितवनका किसान मर्कामा

Street vendors awaiting customers to sell their bananas in Itahari, on Wednesday, November 22, 2017. Photo: RSS

चितवन, असोज ५ –

केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ ।

गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिसँगै किसानले उत्पादन बढाएका थिए ।

नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चारमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताउनुहुन्छ ।

“केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रुपमा घटेको छ,” उहाँले भन्नुभयो, “प्रतिकोसा रु नौसम्ममा बिक्री भएका केरा अहिले रु चारमा झरेको छ ।”

देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ । एक बिघा जमिनमा दुई हजार बेर्ना रोप्न सकिन्छ । एउटा बिरुवामा १०० देखि २०० कोसासम्म केरा फल्छ । नेपाल केरामा आत्मनिर्भर छ । केरा आयात रोकिएपछि किसानले तीन हजार बिघा थप गरी खेती गर्न सुरु गर्नुभयो । आउँदो वर्ष केरा निर्यात गर्नुपर्ने पन्तको भनाइ छ ।

काठमाडौँ, पोखरा, नेपालगञ्जलगायत स्थानमा केराको मूल्य घटेको छ । समयअनुसार बजार व्यवस्थापन हुन नसक्दा सो स्थानमा मूल्य घटेको हो । फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी किसानले उत्पादन योजना बनाएका छन् ।

केराको उत्पादन बढेर नौ लाख मेट्रिक टन पुगेको छ । दसैँ, तिहार र छठसम्म केराको मूल्यमा वृद्धि हुने सम्भावना छ ।

फागुनपछि मूल्य बढ्ने अनुमान छ । चितवनमा सुपरजोन क्षेत्रमा एक हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ । यो नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हो ।

केरा उत्पादक सङ्घ, चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन नलैजाने र सस्तोमा लगेको महँगोमा बेच्दा समस्या भएको बताउनुहुन्छ । उपभोक्ताले हाल पनि जी नाइन केरा प्रतिदर्जन रु १०० भन्दा बढीमा खरिद गर्न बाध्य भएका छन् ।

केरा बिक्री नहुँदा बारीमा बिग्रने सम्भावना बढेको छ । भोटेकोशी–त्रिशूली बाढीलगायत कारण राजधानी लगायतका ठूला बजारमा बिक्रीका लागि केरा पठाउन नसक्दा मूल्य घटेका हो ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ का किसान शङ्कर सुवेदी बाढीका कारण विभिन्न ठाउँमा पुग्न नसक्दा मूल्य घटेको बताउनुहुन्छ । सुवेदीले ६४ बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । यस वर्षबाट देशलाई आत्मनिर्भर बनाउने गरी बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन लागेको उहाँले बताउनुभयो ।

उत्पादित केराको मूल्य लागत मूल्यभन्दा तल नगए नेपालका किसानले केरामा सहजै आत्मनिर्भर बनाउन सक्ने उहाँको भनाइ छ ।

नेपालमा एक जना किसानले १०० बिघा क्षेत्रफलसम्म केरा लगाएको महासङ्घको तथ्याङ्कमा छ । गत असोज ६ गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

उक्त निर्णय पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसैसँग उत्साहित भएका किसानले केरा खेती वढाएका हुन् । नेपालमा मालभोग, जी नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ । रासस