काठमाडौँ असोज २ –
रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो।
उद्धारका क्रममा ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ।
टोलीका अनुसार सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका क्रममा उद्धार टोलीले सुरुङ क्षेत्रमा खोजी तीव्र बनाएको हो।