भरतपुर,असोज २-
चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा तेल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु.१ ख ६६०१ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१० निवासी करिब ३२/३३ वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब २८/२९ वर्षीय नसिब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । उपचारका क्रममा शक्ति चौधरीलाई बेलुका ८ः४० बजे र नसिब चौधरीलाई ८ः४८ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनिहरु दाजुभाई रहेको बताइएको छ ।
दुर्घटनापछि तेल ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेल र इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनापछि केही समय प्रभावित भएको राजमार्गको यातायात अहिले भने सुचारु रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।