चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

chitwan kaidbandi rahat for flood

चितवन, भदौ २३ –

चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलनसँगै श्रमदान गरेर प्रभावित परिवारका लागि आवश्यक बन्दोबस्तीका सामग्री जुटाएका हुन् ।

सोमबार कारागार परिसरमा आयोजित कार्यक्रममा कैदीबन्दीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काइयो गरी १२५ सेट सामग्री उपलब्ध गराएका छन् ।

राहत सामग्री खरिदका लागि कैदीबन्दीले व्यक्तिगत रूपमा १०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म सहयोग गरेका थिए । सङ्कलित रकमबाट ३ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको सामग्री खरिद गरिएको हो । त्यसमध्ये डसना र सिरानी भने कैदीबन्दीले कारागार परिसरमै श्रमदान गरी तयार पारेका हुन् ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेका कैदीबन्दीबाट भएको सहयोग उदाहरणीय र नमुना किसिमको रहेको बताए ।

उनले विपद्को समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्ने कैदीबन्दीको प्रयासले मानवीय भावना र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको बताए ।

चितवन कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।