चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

tuin khola dhisko

चितवन, भदौ २३ –

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण परिचालन गरिँदै छ । आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताउनुभयो ।

प्राविधिक एवं मजदुरहरु पेटीको सहायताले भिरमा झुन्डिएर काम गरिरहेका छन् । पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको यो ठाउँमा डिभिजन सडक कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको समय पारेर यहाँ आंशिक सवारी रोकेर काम थालिएको हो ।

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक बन्द गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ८ः०० बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ः०० बजे, दिउँसो १ः०० बजेदेखि १ः३० बजे, ३ः३० देखि ४ः०० बजे र साँझ ६ः०० बजेपछि भोलिपल्ट बिहान ६ः०० बजेसम्म सवारी आवागमन सुचारु गरिने छ । यसबाहेकको समयमा सो स्थानमा सवारी रोकेर पहिरो रोकथामको काम गर्न लागिएको हो ।

गत वर्षको असोज ३ र ७ गते सो ठाउँमा ठूलो पहिरो खस्दा एक सय चार घण्टा सडक अवरुद्ध भएको थियो । घिमिरेका अनुसार खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो रोकथाम गर्न लागिएको हो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ ।

केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो । सुरुमा सो भित्तोमा झर्न लागेका ढुङ्गा, माटोलगायतलाई झारिँदै छ । यससँगै सो ढिस्कोलाई सफा गरिने छ । सोपश्चात् भित्तोमा रडलाई ‘ड्रिल’ गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिँदै छ । यसलाई ‘नेलिङ’ भनिन्छ । दश महिनामा काम सक्ने गरी कार्यालयले रु २२ करोड २१ लाखमा बोलपत्र आह्वान गरेको थियो । यो बजेटभित्र नाम्सी खोलाको मुग्लिनतर्फको डाँडाको पनि पहिरो रोकथामको काम गर्नुपर्ने हुन्छ । सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जसमध्ये आठ ठाउँलाई उच्च जोखिमको रुपमा लिइएको छ ।रासस