रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

upachar

भरतपुर, भदौ २० –

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका शवको व्यवस्थापन तथा पीडित परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले तीव्रता दिएको छ ।

भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि नारायणी नदीको तटीय क्षेत्रमा समेत त्यसको प्रभाव परेको हो । नदीको जलसतह घट्दै गएसँगै किनार तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न थालेपछि रेडक्रसले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा स्वयंसेवक परिचालन गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।

बाढी आएको दिनदेखि हालसम्म नदी किनार तथा शव होल्डिङ सेन्टरमा रेडक्रसका १६० भन्दा बढी स्वयंसेवक परिचालन भइसकेका छन् । शव व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन रेडक्रसले जिल्ला विपद् व्यवस्थापन समिति चितवनलाई डेड बडी ब्याग, पीपीई सेट, मास्क, ग्लोब्स, स्यानिटाइजर, फिनेललगायतका आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा अस्थायी शव गृहका कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको रेडक्रसले जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आधिकारिक विवरणअनुसार भाद्र १८ गतेसम्म चितवनमा प्राप्त शवको सङ्ख्या ३६० पुगेको छ ।

शोकाकुल परिवारलाई मनोसामाजिक सहायता

रेडक्रसले शव व्यवस्थापनसँगै विपद्का कारण आफन्त गुमाएका तथा बेपत्ता परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ ।

शव पहिचान केन्द्रमा आएका मृतकका आफन्तलाई तालिमप्राप्त मनोपरामर्शदातामार्फत सेवा दिइँदै आएको छ । हालसम्म १९ जनाले गहन मनोपरामर्श र ४२ जनाले मनोसामाजिक प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् ।

बेपत्ता व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलनका लागि रेडक्रसका स्वयंसेवकले हालसम्म ४०६ वटा फाराम भरेका छन् । मृतकको पहिचानका लागि भइरहेको डीएनए परीक्षण प्रक्रियामा समेत रेडक्रसले परिवारलाई आवश्यक सहजीकरण गरिरहेको जनाएको छ ।

भरतपुरमा ११०० युनिट रगत मौज्दात
आकस्मिक उद्धार तथा उपचारका क्रममा हुनसक्ने रगतको अभावलाई ध्यानमा राख्दै रक्तसञ्चार केन्द्र भरतपुरमा ११०० युनिट रगत मौज्दात राखिएको छ ।

स्वयंसेवक तथा कर्मचारीको निरन्तर परिचालनका कारण जिल्लामा हाल रगतको अभाव नरहेको र रक्तसञ्चार सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको रेडक्रस चितवनले जनाएको छ ।

६४ औँ स्थापना दिवसमा बाढीपीडितप्रति श्रद्धाञ्जली
यसैबीच, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले भाद्र १९ गते आफ्नो ६४ औँ स्थापना दिवस मनाएको छ । “मानवताका लागि एकबद्ध होऔँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम जिल्ला शाखाका सभापति हरिप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले यसपटक स्थापना दिवसलाई औपचारिक उत्सवभन्दा पीडितप्रति सहानुभूति र श्रद्धाञ्जलीमा केन्द्रित गरेको थियो ।

कार्यक्रममा जिल्ला शाखाका पदाधिकारी, उपशाखाका प्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकहरूले रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युनाको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि बाढीमा ज्यान गुमाएकाहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

बाढीमा परी बेपत्ता भएकाहरूको शीघ्र खोजी, पहिचान तथा परिवारसँग पुनर्मिलनको कामना गर्दै दीप प्रज्वलनसमेत गरिएको थियो ।

रेडक्रस चितवनले जिल्ला विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गर्दै आवश्यकता अनुसार उद्धार, शव व्यवस्थापन, मनोसामाजिक सहायता तथा अन्य मानवीय प्रतिकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।