माडीका समस्याबारे रास्वपा माडी नगर र्‍याटले गरायो तीन संघीय मन्त्रीको ध्यानाकर्षण

madi sobita

भरतपुर, भदौ ३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र रास्वपा चितवन जिल्ला समितिको समन्वयमा माडी नगर ऱ्याट विभागको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर माडीका समस्याहरूको दीर्घकालीन समाधानबारे ध्यानाकर्षण गराएको हो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी नगर ऱ्याट विभागले “सरसफाइबाट सुरुवात, संवादबाट समाधान” भन्ने मूल नाराका साथ आयोजना गरेको बृहत् सरसफाइ, युवा संवाद तथा समस्या सङ्कलन कार्यक्रमबाट उठेका जल्दाबल्दा विषयहरू लिएर टोली मन्त्रालय पुगेको थियो। टोलीमा माडी नगर ऱ्याट विभागको प्रतिनिधित्व गर्दै सचिव आर्यन थापा (पुकार) र सदस्य मिलन न्यौपाने सहभागी थिए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै टोलीले हनुमान झुला क्षेत्र राष्ट्रिय वन अन्तर्गत पर्ने भए तापनि निकुञ्ज प्रशासनको क्षेत्राधिकार दाबीका कारण त्यहाँका नागरिक दशकौंदेखि लालपुर्जा, बिजुली र आधारभूत विकासबाट वञ्चित हुनुपरेको कानुनी जटिलताबारे अवगत गराएको थियो। कानुन मन्त्रालयले वन ऐन र निकुञ्ज ऐन नियमहरूको बाझिएको अवस्था सल्टाउन, अन्तर–मन्त्रालय समन्वय गरी आवश्यक नीतिगत तथा कानुनी सहजीकरण तुरुन्तै अघि बढाउने जानकारी दिएको छ।

त्यस्तै, भूमि मन्त्रालयले समग्र माडीवासीहरूका लागि आगामी एकदेखि डेढ महिनाभित्रै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने गरी प्रक्रिया तीव्र पारिएको प्रतिबद्धता व्यक्त गरेको छ। साथै, हनुमान झुला लगायतका बस्तीहरूमा लामो समयदेखि देखिएको कानुनी उल्झन सल्टाएर वास्तविक बासिन्दालाई लालपुर्जा उपलब्ध गराउन मन्त्रालय लागिपर्ने आश्वासन दिएको छ।

उता ऊर्जा मन्त्रालयले लामो समयदेखि अन्धकारमा रहेको हनुमान झुला क्षेत्रमा तत्कालै बत्ती बाल्न सकिने÷नसकिने प्राविधिक पक्षको अध्ययन गर्न मन्त्रालयबाट तत्कालै प्राविधिक टोली फिल्डमा परिचालन गर्ने बताएको छ। ऊर्जा मन्त्रीले तत्काल सम्भव भए दशैं अगाडि नै काम सुरु गर्ने र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए सोही अनुसार छिटोभन्दा छिटो काम अघि बढाउने आश्वासन दिएका छन्।

समग्र माडी क्षेत्रमा नयाँ विद्युत प्रसारण लाइन विस्तारका लागि आवश्यक तयारी समेत भइरहेको जानकारी गराइएको छ। यसैगरी, निकुञ्ज क्षेत्रको सडक निर्माण प्रक्रियालाई दशैं अगावै टेन्डरमा लैजाने र चाडपर्व लगत्तै फिल्डमै काम सुरु गर्ने योजना रहेको मन्त्रालय स्रोतले जानकारी गराएको छ। स्थानीय युवाहरूले सङ्कलन गरेका जनसमस्यालाई तीनवटै मन्त्रालयसम्म पुर्‍याउने यो पहल र मन्त्रालयहरूबाट प्राप्त ठोस जानकारी एवं आश्वासनले माडीबासी जनतामा नयाँ आशा र भरोसा जगाएको छ।