चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

dhundiraj-paudel

भरतपुर, भदौ ३-

चितवनका प्राडा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । भरतपुर अस्पतालका पूर्वअध्यक्ष समेत रहेका पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भरतपुर अस्पतालकाे अध्यक्ष भएर उनले करिब चार महिना काम गरेका थिए । उनी रत्ननगरकाे स्थायी बासिन्दा हुन् ।

वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा पौडेलले नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा काम पनि गरेका थिए। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए ।

डा पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस (एमएस) गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन् । उनले सोही संस्थानबाट एमबीबीएस अध्ययनसमेत पूरा गरेका छन् ।

डा पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।