चितवन, भदौ २-
भरतपुर महानगरपालिका–१ ठिमुरास्थित साविकको ठिमुरा रिसोर्ट नयाँ व्यवस्थापनका साथ ‘होटल रिभरसाइड रिट्रिट’ का नामबाट सञ्चालनमा आएको छ। भदौ १ गतेदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको यस होटललाई भरतपुरस्थित ‘होटल रोयल सेन्चुरी’मा लामो समय काम गरेको टिमले सञ्चालनमा ल्याएको हो।
नारायणगढको व्यस्त बजारबाट नजिकै भए पनि सतनचुली सामुदायिक वनको काख र त्रिशूली नदीको किनारमा अवस्थित यो होटल प्राकृतिक एवं शान्त वातावरणले भरिपूर्ण छ। सात बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टले आगन्तुकलाई आकर्षक ‘रिभर भ्यु’को अनुभव गराउने सञ्चालकहरूको भनाइ छ।
होटलमा हाल २५ वटा सुविधासम्पन्न कोठा उपलब्ध छन् भने वातावरणीय प्रभाव मूल्याङ्कन गरेर यहाँ ७५ वटासम्म कोठा सञ्चालनको अनुमति लिइएको छ। यसबाहेक रिसोर्टमा १५ सय क्षमताको विशाल सभा हलका साथै ५० र १०० जना क्षमताका अन्य साना सभाकक्षहरू पनि निर्माण गरिएका छन्। चितवनमा ठूला तथा साना सभा–सम्मेलन र कर्पोरेट कार्यक्रमका लागि यो गन्तव्य अत्यन्त उपयुक्त हुने विश्वास सञ्चालकहरूको छ।
होटल परिसरमा पहाडी शैलीमा कलात्मक तरिकाले काठै काठबाट निर्माण गरिएको ‘भाइरल घर’ मुख्य आकर्षणको रूपमा रहेको छ। रिसोर्ट परिसरमा ठाउँठाउँमा बनाइएका काठका कलात्मक पुलहरूले यसको सौन्दर्यलाई थप बढाएका छन्। निर्माणमा ढुङ्गासँगै अधिकतम काठ, खडाइ र खरको प्रयोग गरिएको छ भने चिनियाँ कला झल्काउने सेरामिक धातुका सिंह, गाड, युवती र आकर्षक बत्तीहरूले यसलाई सजाइएको छ। रेष्टुरेन्टभित्र कलात्मक काठको बनोटमा झुमर बालिएको छ।
रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा र अमलालगायत थुप्रै रुखहरू रहेका छन्। यहाँको शान्त वातावरणले गर्दा अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि लामो समयसम्म बसेर काम गर्न उपयुक्त हुने सञ्चालक देवेन्द्रमणी अधिकारीले जानकारी दिए। पुलचोकबाट करिब ५ किलोमिटरको दूरीमा रहेको यस रिसोर्टमा स्विमिङ पुल र ज्याकुजीको सुविधा पनि उपलब्ध छ। आउँदै गरेको चाडपर्व (तीजदेखि तिहारसम्म) का अवसरमा यहाँ हुने विभिन्न कार्यक्रम तथा बुकिङमा विशेष छुटको घोषणा गरिएको छ। साथै, सर्बसुलभ मूल्यमै अर्गानिक तथा गुणस्तरीय खाना उपलब्ध गराउने प्रतिबद्धता होटल पक्षले जनाएको छ।
धार्मिक तथा पर्यटकीय स्थल देवघाटधाम यस होटलबाट निकै नजिक छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै सौराहा जीप सफारीको समेत व्यवस्था मिलाइएको छ भने आगन्तुकले थारू समुदायको सांस्कृतिक नृत्यको समेत आनन्द लिन सक्नेछन्।