चितवन, भदौ १-
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि (स्टक ब्रोकर नं. ३३) ले चितवनको रत्ननगर-२, टाँडीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
नयाँ शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शंकर गिरीले गरेका थिए । समारोहमा स्थानीय लगानीकर्ता, उद्यमी, व्यवसायी तथा कम्पनीका विशिष्ट अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले दक्षिणकाली इन्भेष्टमेन्टले रत्ननगरमा आफ्नो सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे । उनले यस शाखाको स्थापनाले चितवन र आसपासका क्षेत्रका लगानीकर्ताहरूलाई पूँजी बजारमा प्रत्यक्ष, पारदर्शी र सहज पहुँच पुर्याउनुका साथै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजका अध्यक्ष दिनेश राज सापकोटाले स्थानीय लगानीकर्ताहरूलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री धितोपत्र दलाली सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।
अध्यक्ष सापकोटाका अनुसार चितवन र आसपासका क्षेत्रमा बढ्दो व्यावसायिक चहलपहल र लगानीकर्ताहरूको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले यहाँ सेवा विस्तार गरेको हो । यस नयाँ शाखाबाट लगानीकर्ताहरूले आधुनिक प्रविधिमार्फत शेयर कारोबार सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
दक्षिणकाली इन्भेष्टमेन्टले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै पूँजी बजारको विकास र विस्तारमा योगदान दिने लक्ष्य राखेको छ ।