बेवारिसे लास व्यवस्थापनदेखि पुनर्जीवनसम्म : युवालाई सामाजिक अभियानमा जोडिन विनयजंग बस्नेतको आह्वान

action for soical change

भरतपुर , साउन २४ –

बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ‘चितवन युवा भेला’ सम्पन्न भएको छ। शनिबार हाकिमचोकस्थित सीएनटी होटलमा आयोजित कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष विनयजंग बस्नेतले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि ध्रुव केसी उपस्थित थिए। विशिष्ट अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरका उपसभापति दिवाकर राज श्रेष्ठ रहेका थिए।

त्यस्तै रिकभरिङ नेपालका बागमती प्रदेश सल्लाहकार भरत घिमिरे, सामाजिक अभियन्ता नगेन्द्र देउजा, द युनाइटेड चितवनका अध्यक्ष सविन राणालगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुव केसीले बेवारिसे लास व्यवस्थापनजस्तो संवेदनशील काममा विनयजंग बस्नेतले गरेको योगदानको प्रशंसा गरे। कुनै समय कुलतमा फसेका बस्नेत अहिले सामाजिक सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले भने, “हामी बेवारिसे भन्नेबित्तिकै पन्छिन खोज्छौँ, तर विनयजंग बस्नेत त्यही बेवारिसे लासको व्यवस्थापन गर्न अघि सर्नुहुन्छ। उहाँको कामप्रति म निकै खुसी छु।” सामाजिक अभियानमा आफूले पनि निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

विशिष्ट अतिथि दिवाकर राज श्रेष्ठले बेवारिसेहरूको वारिस बन्नु संसारकै महान कार्यमध्ये एक भएको बताए। बेवारिसे लास व्यवस्थापनसँगै पुनर्जीवनको अभियानसमेत सञ्चालन गरिरहेको संस्थाको काममा युवाहरू जोडिनुपर्ने उनको भनाइ थियो।

“आफ्ना व्यक्तिगत कुरा र जीवनलाई समेत थाती राखेर परोपकारी सामाजिक कार्यमा लाग्नु अद्वितीय र अतुलनीय काम हो,” श्रेष्ठले भने, “उहाँको यो महान तथा साहसिक कर्ममा जोडिन सम्पूर्ण युवालाई आह्वान गर्दछु।”

सामाजिक अभियन्ता नगेन्द्र देउजाले विनयजंग बस्नेत आफूलाई भन्दा समाजलाई प्राथमिकता दिने व्यक्तिका रूपमा स्थापित भएको बताए। सामाजिक कार्यलाई निरन्तर अगाडि बढाइरहेका बस्नेतका अभियानमा सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी युवाहरूले उठाएका प्रश्नको जवाफ दिँदै केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले १७ वर्षअघि बेवारिसे लास व्यवस्थापनको काम सुरु गर्दा आफूले अनेकौँ चुनौती र सामाजिक अपमानसमेत खेप्नुपरेको बताए।

सुरुवाती चरणमा साथीभाइसँग सहयोग मागेर काम थालेको र पछि आफ्नै पैतृक सम्पत्तिसमेत बिक्री गरेर सामाजिक सेवामा खर्च गरेको उनले बताए। “कतिपयले मलाई पागलसमेत भने, कतिले मैले छोएको पानी पनि खान मान्दैनथे,” बस्नेतले विगत सम्झिँदै भने, “तर मैले काम छाडिनँ।”

पछिल्लो समय सरकारले समेत बेवारिसे लास व्यवस्थापनका लागि बजेट छुट्याउन थालेकाले आगामी दिनमा कामलाई थप व्यवस्थित बनाउन सहज हुने उनले बताए।

बेवारिसे लास व्यवस्थापनसँगै संस्थाले विभिन्न स्थानमा निःशुल्क खाना वितरण तथा कुलतमा फसेकाहरूलाई पुनःस्थापना र रिकभरिङसम्बन्धी काम समेत गर्दै आएको बस्नेतले जानकारी दिए। हालसम्म बाह्य सहयोगबिना नै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी युवाहरूले सामाजिक सेवामा युवाको भूमिका, बेवारिसे लास व्यवस्थापन, कुलतमा फसेकाहरूको पुनःस्थापना तथा संस्थाको आगामी योजनाबारे जिज्ञासा राखेका थिए। अन्तरक्रियामार्फत युवाहरूलाई सामाजिक अभियानमा सक्रिय रूपमा जोडिन प्रेरित गरिएको आयोजकले जनाएको छ।