काठमाडौं, साउन २२-
नयाँ आर्थिक वर्ष साउन लागेसँगै बजारमा खानेतेल तथा घिउको मूल्य बढेको छ । तेल तथा घिउको मूल्य दुई साता अवधिमै प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ ।
सबै प्रकारका खानेतेलको आकासिँदो भाउले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन, हरेक उपभोग्य वस्तुको भाउ बढ्दा महँगी मारमा परेका नागरिकको दैनिकी झनै कष्टकर बनाइदिएको छ ।
खानेतेलको मूल्य १५ दिनमै १५ रुपैयाँसम्म बढ्दा खुद्रा व्यापारी र ठूला उद्योगी–आयातकर्ताबीच ‘कसले भाउ बढायो’ भन्ने आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ ।
लामो समयदेखि उपभोक्ताको भान्सा कसरी महँगिदै छ भन्ने बुझ्न खुद्रा व्यापार संघको तथ्यांक नै काफी छ । गत आव २०८२/८३ को १५ साउन र चालु आव २०८३/८४ को १५ साउनको मूल्यसूची दाँजेर हेर्दा खानेतेलको मूल्यवृद्धिको ग्राफ उकालो लागेको देखिन्छ ।
एक वर्ष अवधिमा तेलमा प्रतिलिटर न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म र डाल्डा घिउमा ३० रुपैयाँ महँगो भएको छ ।
तथ्यांक अनुसार पोहोर १५ साउनमा प्रतिलिटर ४ सय १० रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले ४ सय ६० रुपैयाँ पुगेको छ । सिधै ५० रुपैयाँको यो वृद्धिले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ ।
त्यस्तै गत वर्ष ३ सय ३५ रुपैयाँ रहेको १ नम्बर काँचो तोरीको तेल यस वर्ष ४५ बढेर ३ सय ८० रुपैयाँ पुगेको छ भने २ सय ५० रहेको २ नम्बर काँचो तोरीको तेल ४० बढेर २ सय ९० रुपैयाँ पुगेको छ ।
धेरै नेपालीको भान्सामा प्रयोग हुने सनफ्लावर र भटमास तेलको अवस्था पनि उस्तै छ । गत वर्ष २ सय ४५ रुपैयाँ रहेको सनफ्लावर तेल अहिले ४५ महँगिएर २ सय ९० पुगेको छ ।
२ सय ४५ रुपैयाँमै पाइने भटमास तेल एक वर्षमा ४० बढेर २ सय ८५ पुगेको छ । व्यावसायिक र घरायसी प्रयोजनमा धेरै खपत हुने वनस्पति (डाल्डा) घिउ पोहोर २ सय ५० रुपैयाँ थियो, जुन अहिले ३० बढेर २ सय ८० पुगेको छ ।
१५ दिनमै फेरिन्छ भाउ
एक वर्षको कुरा त परै जाओस्, १५ दिन अन्तरालमै पनि बजारमा तेलको भाउ ह्वात्तै बढेको छ । साउनको पहिलो १५ दिन (साउन १ देखि १५ सम्म) कै तथ्यांक हेर्ने हो भने खानेतेल र वनस्पति घिउमा ५ देखि १५ रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।
१ साउनमा प्रतिलिटर २ सय ८० रुपैयाँ रहेको भटमासको तेल खुद्रा व्यापार संघको तथ्यांकले १५ साउन आइपुग्दा २ सय ८५ रुपैयाँ पुगेको छ भने सनफ्लावर तेल २ सय ८५ बाट बढेर २ सय ९० रुपैयाँ पुगेको छ ।
वनस्पति (डाल्डा) घिउ १५ दिनअघि मात्रै लिटरको २ सय ६५ रुपैयाँमा पाइन्थ्यो, जुन अहिले १५ रुपैयाँले महँगिएर २ सय ८० पुगेको छ ।
यो त तथ्यांकमा देखाउने मूल्य मात्रै हो । उपभोक्ताले यही मूल्यमा खानेतेल वा घिउ किन्न पाउँदैनन् । उपभोक्ताले एक लिटर सनफ्लावर र भटमास तेल किन्न ३ सयदेखि ३ सय २० रुपैयाँसम्म खर्चिनुपर्छ । अझै बजारमा विभिन्न ब्रान्ड छन् । ब्रान्डपिच्छे फरक–फरक मूल्य तोकिएका छन् ।
व्यापारीहरू एक कार्टुन तेल नै २ हजार ८ सय ५० रुपैयाँसम्म तिर्न बाध्य भएको दाबी गर्छन् । नयाँ बानेश्वरका एक खुद्रा व्यापारीले एक कार्टुन सनफ्लावर तेललाई २ हजार ८ सय ५० रुपैयाँसम्म तिरेर किन्नु परेको दाबी गरे । तर, उनले किनेको बिल भने देखाउन मानेनन् ।
यो उद्योगीको नाटक हो, गाली हामी खान्छौं : खुद्रा व्यापारी
खुद्रा व्यापारी भने यसरी दिनदिनै भाउ बढ्दा उपभोक्ताले सबैभन्दा पहिला चिन्ने र आक्रोश पोख्ने भनेको टोलको खुद्रा पसलेलाई भएको बताउँछन् ।
नेपाल खुद्रा व्यापार संघ महासचिव तथा व्यवसायी अमुलकाजी तुलाधर यो सम्पूर्ण मूल्यवृद्धिको पछाडि ठूला उद्योगी र आयातकर्ताको ‘नाटक’ रहेको आरोप लगाउँछन् ।
‘उनीहरू (उद्योगीले) भाउ बढाउने ठेगान नै छैन, आज एउटा भाउ हुन्छ भोलिपल्ट अर्कै भाउ हुन्छ,’ तुलाधर भन्छन्, ‘कहिले कच्चापदार्थको भाउ बढ्यो भन्छन्, कहिले डलरको भाउ बढ्यो भन्छन् त कहिले ढुवानी बढ्यो भन्छन्, ६ महिना गोदाममा राखेको, ६ महिनासम्मलाई पुग्ने गरी राखेको सामान एकैचोटि भोलिपल्ट कसरी बढ्छ ? यो जहिले पनि नाटकै भइसक्यो ।’
उनका अनुसार डलर भाउ बढ्ने बित्तिकै आजको भोलि नै महँगो सामान आइपुग्ने होइन, तर उद्योगीले पुरानै स्टकलाई नयाँ मूल्य (एमआरपी) तोकेर पठाउँछन् ।
‘उपभोक्ताको अगाडि पर्छौं हामी, आजको भोलि किन महँगो भन्यो भने हामीलाई सबैभन्दा पहिला गाली गर्छन्, मूल्य किन बढ्यो, कसरी एमआरपी बनिरहेको छ, उनीहरूले कतिमा किनेर कति नाफा खाएर बेचेको छ, हामीलाई थाहा हुँदैन,’ उनले थपे ।
उनी आफूले भने पुरानो मूल्य २ हजार ७ सय रुपैयाँ कार्टुनमा ल्याएको तेल बेचिरहेको बताउँछन् ।
व्यवसायीले अहिले सबै खानेतेल भारत निर्यात गरेर नेपाली बजारमा मूल्य बढाएको समेत आरोप लगाएका छन् ।
उद्योगीको दाबी : तेलको भाउ बढाएकै छैन
एकातिर तथ्यांकले दिनमै १ रुपैयाँका दरले मूल्य बढेको देखाउँदा यता उद्योगी भने बजारमा खानेतेलको मूल्य बढाउँदै नबढाएको दाबी गर्छन् ।
नेपाल वनस्पति घिउतेल उत्पादक संघ अध्यक्ष विकास दुगडले बजारमा खानेतेलको मूल्य नबढेको दाबी गरेका छन् । खानेतेलको शतप्रतिशत कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजार र डलरको भाउमा आउने उतारचढावले मूल्यमा सामान्य प्रभाव परेको उनले बताए ।
दुगडले खुद्रा व्यापार संघको तेलको मूल्य १५ दिनमै १५ रुपैयाँसम्म बढेको भन्ने तथ्यांक ठाडै अस्वीकार गरेका छन् । ‘बढेकै छैन,’ उनले दाबी गरे, ‘हामीले धेरैचोटि भनिसकेका छौं, यो कमोडिटी मार्केट हो, इन्टरनेसनल प्राइस (अन्तर्राष्ट्रिय मूल्य) जसरी क्रुड (कच्चा तेल) को मूल्य बढ्छ घट्छ, त्यही हिसाबले हामीले रिप्लेसमेन्ट भ्यालुमा काम गर्नुपर्छ ।’
नेपालमा तेलको कच्चापदार्थ उत्पादन नहुने भन्दै उनले मूल्य घटबढ हुनुमा आफ्नो हात नरहेको जिकिर गरे । ‘हाम्रो हातमा केही छैन, शतप्रतिशत आयातित माल छ, हाम्रो देशमा तेलको कच्चापदार्थ हुँदै हुँदैन,’ दुगडले भने, ‘शतप्रतिशत इम्पोर्ट बेसिसमा डलर बढ्छ भने हाम्रो कस्ट (लागत) बढी भइहाल्छ, डलर कहाँ पुगिसक्यो सबैलाई थाहा नै छ ।’
‘घट्दा कसैले स्याबासी दिँदैन’
अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा आफूहरूले पनि भाउ घटाउने गरेको तर त्यसबेला कसैले वास्ता नगर्ने गुनासो पोखे ।
‘घटेको बेला हामी घटाउँछौं, त्यतिबेला उपभोक्ताले केही भन्दैनन्, खुद्रा व्यापारीले केही भन्दैनन्, स्याबासी दिँदैन कसैले पनि,’ उनले थपे ।
नेपालमा तेलको मूल्य बढाएर भारततर्फ निर्यात गरिएको र त्यसैले महँगी बढेको भन्ने आरोपको उनले खण्डन गरे । ‘यो एकदम गलत आरोप छ,’ उनले भने, ‘यो मार्केट ड्रिभन इकोनोमी हो, आज २८ वटा फ्याक्ट्री छन्, कम्पिटिसन छ, कसैले पनि आफ्नो मनले कहिले बढाउन सक्छ ?’
मूल्य बढाउने अधिकार आफूहरूलाई नभई बजारको अवस्थाले निर्धारण गर्ने उनको तर्क छ ।
२८ सयको बिल देखाउन खुद्रा व्यापारीलाई चुनौती
खुद्रा व्यापारीले फ्याक्ट्रीबाटै एक कार्टुन तेलको २ हजार ८ सय ५० रुपैयाँसम्म पर्ने गरेको भनाइलाई भने उनले बिल देखाउन चुनौती दिएका छन् । ‘त्यो गलत छ, २८ सय ५० मा किनेको छ भने बिल देखाउन चुनौती दिन्छु,’ उनले भने, ‘साढे २७ सयमा पनि पाइराखेको छ, उनीहरूले भन्दैमा हुँदैन ।’
‘हाम्रो नाफा ३ देखि ५ प्रतिशत मात्रै हो’
उद्योगीले ठूलो नाफा नखाएको दाबी गर्दै दुगडले घाटा खाएर व्यापार गर्न नसकिने बताए । ‘कुनै पनि ब्यालेन्स सिटमा ३ देखि ५ प्रतिशतभन्दा बढीको प्रोफिट कहिल्यै पनि आउँदैन,’ दुगडले भने, ‘त्यति त कमसेकम कमाउने हक त छ एउटा व्यापारीले, यति ठूलो इन्भेस्टमेन्ट (लगानी) गरेको छ, बैंकबाट लोन लिएको छ, रिस्क लिएको छ ।’
दैनिक हुने नाफाघाटा भन्दा पनि वर्षभरिको औसत (एभरेज) हेरेर व्यापार गरिने उनको भनाइ छ । ‘हामी वर्षभरिको एभरेज हेर्छौं, कहिले घाटा पनि हुन्छ, कहिले नाफा पनि हुन्छ,’ उनले थपे ।
तेलको एक–दुई गुनासो आएको छ, अनुगमन गर्न भ्याइएको छैन : वाणिज्य विभाग
अनुगमन जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तेलको एक–दुई गुनासो आएको र त्यस विषयमा राम्रोसँग अनुगमन गर्न नभ्याएको तर्क गरेको छ ।
विभागका सूचना अधिकारी अनिल किराँतीले पछिल्लो समय ग्यासको समस्यामा अल्झिनुपर्दा तेलको अनुगमन गर्न नभ्याइएको तर्क गरे ।
‘यो बीचमा ग्यासको अलि बढी प्रेसर भएकाले हामीले खालि ग्यासको मात्रै अनुगमन गरिराखेका छौं,’ उनले भने, ‘अहिले तीन दिनजति निरन्तर ग्यासमा मात्र हाम्रो अनुगमन भएकाले त्यतापट्टि (खानेतेलको अनुगमनमा) हेर्न पाएका छैनौं ।’
विभागले खुद्रा पसलमा अनुगमन गर्दा एमआरपी भन्दा बढी लिएको नभेटिएको तर फ्याक्ट्रीबाटै एमआरपी बढाएर पठाएको पाइएको किराँती बताउँछन् ।
‘मूल्यवृद्धि भएको चाहिँ के हो भनेर बुझ्न जाँदा उता फ्याक्ट्रीबाटै, आयातकर्ताबाटै बढेर आएको पाइयो,’ उनले भने ।
अब लगातार चाडपर्व नजिकिँदै छन् । आउँदै गरेका तिज, दसैं, तिहार, छठजस्ता ठूला चाडपर्वमा खानेतेलको खपत अत्यधिक हुन्छ । यही बेला मौका छोपेर सीमित व्यापारी र बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने खेल सुरु गरिसकेको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना उद्योगीले डलरको बहाना बनाउने, खुद्रा व्यापारीले उद्योगीलाई दोष दिने र सरकारले ‘अर्को अनुगमनमा व्यस्त छु’ भन्ने हो भने उपभोक्ताले न्याय कसरी पाउने भन्दै प्रश्न गरे ।
‘यो भनेको उपभोक्तामाथि गरिएको चरम शोषण हो,’ तिमिल्सिनाले भने, ‘जतासुकैबाट उपभोक्तालाई दु:ख दिइएको छ, व्यापारीले जति नाफा खाए पनि जिम्मेवार निकाय मौन छन् ।’
सरकारले थाहा नपाए झैं गरेर चुप लाग्दा व्यवसायीको मनोमानी बढेको उनको आरोप छ ।
नेपालबाट कति हुन्छ तेल निर्यात ?
नेपालबाट बर्सेनि अर्बौं रुपैयाँ बराबरको खाने तेल भारत लगायत देशमा निर्यात हुने गर्छ । विदेशबाट कच्चापदार्थ ल्याएर प्रशोधन गरी नेपालबाट तेल निर्यात हुने गरेको छ ।
नेपालबाट भारत निर्यातमा शून्य भन्सार लाग्ने गरेको छ । त्यसो हुँदा ठूलो परिमाणमा तेल निर्यात हुने गरेको हो । तेस्रो मुलुकबाट आयात हुने तेलमा भारतले उच्च भन्सार लगाएपछि नेपालबाट त्यता जाने तेलको मात्रा अत्यधिक बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आव २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ । यस्तै सोयाबिन तेल १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ