नवलपरासी, साउन २१-
नारायणी नदीमा जलस्तर बढेर बस्तीमा बाढी पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का बासिन्दा आफैं अस्थायी तटबन्ध बनाउन थालेका छन् । नारायणीको कटान र पानी थारु टोलतर्फ पस्न थालेपछि स्थानीयले बस्ती जोगाउन बोरामा माटो भरेर पानी छक्ने प्रयास थालेका हुन् । सुस्तामा बाढीको जोखिम कम गर्न गत आर्थिक वर्षमा पक्की तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध पछि काम रोकिएको थियो ।
बाढी पस्ने जोखिम भएको क्षेत्रमा अस्थायी संरचना राखेर भए पनि स्थानीयले नियन्त्रणको प्रयास गरेका हुन् । बुधबार साँझदेखि नै सयौं स्थानीयले श्रमदान गरेर बस्ती जोगाउन जुटेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए । ‘सुस्तामा तटबन्ध बनाउनका लागि राज्यले रकम त विनियोजन गर्यो । तर, मुख्य बाढी पस्ने स्थानमा नै काम गर्न भारतीय पक्षले रोक लगाउँदा बस्ती जोखिममा परेको छ,’ उनले भने, ‘अहिले स्थानीय आफैंले बोरामा बाटो, गिट्टी भरेर नदी किनारमा लगाइरहेका छौं । नदी बस्तीमा पस्यो भने सुस्ता गाउँनै विस्थापित हुनुपर्ने जोखिम छ ।’
बर्खाभरी सुस्ताका बासिन्दा नदी बढेर बस्ती पस्ने त्रासमा हुन्छन् । वर्षौंदेखि बाढीको जोखिम भोगिरहेका स्थानीयलाई यस वर्ष भने तटबन्ध निर्माणको योजनाले खुसी थिए । उक्त योजनाबाट नदीको केही स्थानमा पक्की तटबन्ध निर्माण भए पनि वर्षौंदेखि बाढी पस्दै आएको थारु टोलमा भने तटबन्ध हुन नसक्दा जोखिम कायमै रहेको सुस्ता बचाउ अभियानकी अगुवा लैला बेगमले बताइन् । ‘अहिले हामी आफैंले जाली, ढुंगा र बोरामा गिट्टी राखेर कटान रोक्ने कोशिषमा छौं,’ बेगमले भनिन्,‘आफ्नो बस्ती जोगाउन हामी आफै कस्सिएका हौं ।’ तीनतर्फबाट नारायणी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्ती बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ ।