नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

narayani flood

चितवन,साउन २१–

नारायणी नदीमा मिसिने त्रिशूली, कालीगण्डकी लगायतका नदीहरूमा बाढी आएका कारण बिहीबार बिहानैदेखि नारायणगढ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

आयोगले त्रिशूली, मर्स्याङ्दी, सेतीगण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढी बढिरहेको र गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ । ुत्यसैले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुहोला, जल तथा ऊर्जा आयोगको सचिवालयले बिहीबार बिहान पाँच बजे नै मोबाइल फोनहरूमा पठाएको एसएमएसमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार नारायणी नदीको चितवन देवघाट जलमापन केन्द्रमा बिहीबार बिहान पौने ६ बजे नारायणीमा बाढीको तह ६ दशमलव ३२ मिटर छ । यहाँ बाढीको तह सात दशमलव तीन मिटर पुगे चेतावनी र नौ मिटर पुगे खतराको तह मानिन्छ । विभागले बाढीको तह बढ्दो क्रममा रहेको जनाएको छ ।